file photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले चेपाङ समुदायको पर्व न्वाँगी (छोनाम) को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रकृति पूजक चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते मनाउँदै आएको पर्व न्वाँगीका अवसरमा आज एक सन्देश जारी गर्नुहुँदै उहाँले देश तथा विदेशमा रहनुभएका चेपाङ समुदायप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।
पर्वका अवसरमा मुख्यमन्त्री लामाले बहु जातीय, बहुभाषिक, बहु धार्मिक र बहु सांस्कृतिक राष्ट्रको रूपमा रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको एक महत्त्वपूर्ण अङ्गको रूपमा चेपाङ संस्कृति रहेको भन्दै न्वाँगीको दिन चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमि पूजा गरी पितृलाई चढाउने प्रचलन रहेको बताउनुभएको छ । उहाँले शुभकामना सन्देशमा झाँक्रीले पूजा नगरी गाउँमा नयाँ फलफूल तथा अन्न खाएमा रोगव्याधी लाग्ने विश्वास चेपाङ समुदायमा रहिआएको भन्दै न्वाँगीमा छरछिमेकी र नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख दुःख साट्ने गरिन्छ भन्नुभएको छ ।
मुख्यमन्त्री लामाद्वारा जारी शुभकामना सन्देशमा चेपाङजातिको यस पर्वमा बागमती प्रदेशले सार्वजनिक बिदा दिएर सम्मान प्रकट गर्दै आएको उल्लेख छ । उहाँले बागमती प्रदेश सरकार प्रदेश भित्र बसोबास गर्ने जातजातिका संस्कृतिहरूको संरक्षण तथा प्रवर्द्धन गर्दै तिनको विकासका लागि आवश्यक सहयोग गर्न सदैव तयार रहेको समेत बताउनुभएको छ । उहाँले न्वाँगी पर्वले हामीमा सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गरी समाजवादको लक्ष्य हासिल गर्न हामी सबै एकताबद्ध भई अगाडि बढ्न प्रेरणा मिल्ने अपेक्षासहित शुभकामना व्यक्त गर्नुभएको छ ।
यसैबिच मकवानपुरका चेपाङ समुदायले पनि आज छोनाम अर्थात न्वागी पर्व मनाएका छन् । बिशेषगरी जिल्लाको कैलाश, राक्सिराङ र मनहरी गाउँपालिकामा बसोबास गर्ने चेपाङ समुदायहरुले यो पर्ब भब्य रुपमा मनाएका छन् । पर्वका अवसरमा सबै भन्दा बढी चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिकाले हिजो शुक्रबार र आज सार्वजनीक विदा समेत दिएको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालका २६ जिल्लामा ८४ हजार ३६४ जना चेपाङ समुदायको बसोबास रहेको छ । जसमध्ये मकवानपुरमा मात्र २३ हजार ६५० जना र राक्सिराङ गाउँपालिकामा कुल जनसंख्याको ४३.९६ प्रतिशत चेपाङ समुदायको बसोबास रहेको छ ।