मकवानपुर । बागमती प्रदेशसभाको बर्षे अधिवेशन आजबाट सुरु हुँदैछ । बजेट अधिवेशनको रुपमा रहेको प्रदेशसभाको अधिवेशन प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गर्नुभएको हो ।
प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईँले प्रदेश प्रमुखको कार्यालयबाट प्रदेशसभाको अधिवशेन आज दिउँसो १ बजे बस्ने गरी आह्वान गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाईएको जानकारी दिनुभयो । प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभाको बैठक प्रदेश प्रमुखले आह्वान र अन्त्य गर्ने संविधानीक व्यवस्था छ ।
यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन रुपमा रहने प्रदेशसभाको अधिवशेन वैशाख ३१ गतेका लागि आह्वान गर्न बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।
अधिवेशनको पहिलो दिन आज प्रदेश सभाको अधिवेशनको सफलताको लागि दलीय रूपमा शुभकामनाका दिने कार्यक्रम रहेको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । साथै बैठकमा प्रदेश सरकारले जारी गरेको उच्च शिक्षा ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ । यसै अधिवेशनमा अवधिमा प्रदेश सरकारको आगामी बजेटको सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम र बजेट ल्याइने भएको छ ।
यसैबिच बागमती प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आइतबार प्रदेशसभा सचिवालयमा बसेको छ । प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा आजबाट सुरु हुने प्रदेशसभाको अधिवेशनको कार्यसूची तय गर्ने लगायत विषयमा छलफल भएको थियो ।