इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलाई हराउदै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) ले प्लेअफ सम्भावना कायम राखेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा बेंगलूरुले दिल्लीलाई ४७ रनले हराएको हो ।

बेंगलूरुले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ४० रन मात्र बनाउन सक्यो । दिल्लीका लागि यस खेलमा कप्तानी गरेका अक्षर पटेलले सर्वाधिक ५७ रन बनाए । बेंगलूरुका यश दयालले ३ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलूरुले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । बेंगलूरुका लागि रजत पतिदरले ५२ रन बनाए ।

दिल्लीका खलिल अहमद र रशिख सलामले २–२ विकेट लिए । जित पछि पाँचौँ स्थानमा उक्लिएको बेंगलूरुको १३ खेलमा १२ अङ्क भएको छ । समान खेल र समान अङ्क रहेको दिल्ली छैटौँ स्थानमा छ ।

यसैबीच,  राजस्थान रोयल्सलाई हराएर चेन्नई सुपर किंग्सले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा हिजो भएको पहिलो खेलमा चेन्नईले राजस्थानलाई   ५ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ४२ रनको लक्ष्य चेन्नईले १० बल बाँकी छँदै ५ विकेट गुमाएर भेटायो । चेन्नईका लागि कप्तान रुतुराज गाईक्वाडले अविजित ४२ रन बनाए । राजस्थानका रविचन्द्रण आश्विनले २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४१ रन बनायो । राजस्थानका रियान परागले सर्वाधिक ४७ रन बनाए । चेन्नईका सिमरजित सिंहले ३ विकेट  लिए । जित पछि एक खेल खेल्न बाँकी रहेको चेन्नई १४ अङ्क सहित तेस्रो स्थानमा छ । राजस्थान १२ खेलमा १६ अङ्क सहित दोस्रो स्थानमा छ । आईपीएलमा आज  गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।