मकवानपुर । बागमती प्रदेश सरकारले आफु मातहतका ७ वटा अस्पताललाई शववाहन हस्तान्तरण गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाले प्रदेश मातहतका ७ वटा अस्पताललाई शववाहन हस्तान्तरण गरेको हो ।
आईतबार एक कार्यक्रमका बीच प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले अस्पतालका अध्यक्ष तथा प्रमुखहरुलाई शवबाहन हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री जोशीले शववहानहरुमा सव ओसार्दा सकेसम्म निशुल्क रकम लिनै परेमा पनि थोरै रकममा ओसार्न अस्पतालहरुलाई निर्देशन दिनुभयो ।
प्रदेश सरकारले दोलखाको पशुपति चौलागाई अस्पताल, रसुवा अस्पताल, रामेछाप अस्पताल, चितवनको रत्ननगर बकुलर अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल, सिन्धुली अस्पताल र त्रिशुली अस्पताललाई शवबाहन प्रदान गरेको हो । भन्सार छुटमा खरिद गरिएको सात वटा शववहान टेण्डर मार्फत कुल एक करोड ८ लाख ६५ हजार रुपैयाँ लागतमा बितेको आर्थिक वर्षको कार्यक्रम अन्तरगत खरिद गरिएको केन्द्रका लेखा अधिकृत राधाकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिब बद्री बहादुर खड्का, प्रवक्ता दीपक प्रसाद तिवारी, स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिस विष्ट लगायतकाको उपस्थिति रहेको थियो ।