हेटौँडा । हेटौँडामा भएको दोस्रो संरकरणको बागमती प्रदेश युवा सम्मेलन १३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । प्रदेश युवा परिषद्को आयोजनामा तीन दिनसम्म भएको सम्मेलनमा सहभागी युवाहरूबाट प्राप्त सुझावका आधारमा १३ बुँदे घोषणापत्र जारी गरिएको हो ।
बागमती प्रदेशका युवालाई सक्षम र सशक्त बनाउँदै युवासँग सम्बन्धित पाँच विविध विषयमा आधारित भएर छलफल गरी ती विषयलाई घोषणापत्रको रुपमा तयार गरीएको हो । कार्यक्रमको समापनका अवसरमा तीन दिनसम्म विविध विषयमा भएको छलफलबाट प्राप्त सुझाव समेटिएको घोषणापत्र मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई हस्तान्तरण गरिएको थियो । मुख्यमन्त्री जम्मकट्टेललाई घोषणापत्र हस्तान्तरण गर्नुहुँदै प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले युवाहरुका सुझाबलाई समेटेर तयार पारिएको घोषणापत्र लागु गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा मुख्यमन्त्री जम्मकट्टेलले युवाहरुको सिप र क्षमतालाई प्रदेश सरकारले उच्च मुल्याङकन गर्ने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले कार्यक्रमको उदेस्य पुरा भएको बताउनुभयो । कार्यक्रममा बिभीन्न बिधाका उत्कृष्ट दुई जनालाई २५ हजार रुपैयाँ नगद सहित पुरस्कृत गरिएको थियो । भने, कार्यक्रममा सहभागि युवाहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । सम्मेलनमा प्रदेशका १३ जिल्लाका ११९ पालिकामध्ये ९१ पालिकाबाट समावेशीरुपमा छनौट भई आएका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका २०० बढी युवाको सहभागिता रहेको थियो ।
यस्तो छ १३ बुँदे घोषणापत्र ।
(१) युवा सम्मेलनले बागमती प्रदेश युवा परिषद् ऐन २०७६, प्रदेश युवा परिषद् नियमावली २०७७, बागमती प्रदेश युवा नीति २०७९ को प्रभावकारी कार्यान्वयन गर्दै बागमती प्रदेशका युवाहरुको चाहना र आवश्यकताहरुको सम्वोधन गरिनु पर्ने छ ।
(२) संघीय तथा प्रदेश सरकारका आवधिक योजनाहरु, युवासँग सम्बन्धित नीतिगत व्यवस्थाहरुको कार्यान्वयनमा बागमती प्रदेश युवा परिषद्ले यस बागमती प्रदेशमा नेतृत्वदायी उपस्थितीसहित महत्वपूर्ण भुमिका खेल्नुपर्दछ । यसका लागि आवश्यक स्रोत तथा साधनको सुनिश्चिता तवर हुनुपर्दछ । बागमती प्रदेश युवा परिषद्लाई थप स्रोत साधनसम्पन्न बनाउदै बागमती प्रदेशका युवाहरुका साझा सवालहरुको सम्वोधनका लागि परिषद्को नेतृत्वदायी भूमिकालाई थप प्रवद्र्धन गर्नुपर्दछ ।
(३) बागमती प्रदेश युवा परिषद्ले संचालन गरिरहेको युवाहरुको सीप विकास तथा सीप परीक्षणलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्दै बागमती प्रदेशका सबै युवाहरुमाझ पुर्याउनु पर्दछ । युवाहरुमा रोजगारी, स्वरोजगारी र उद्यमशिलता प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारले गरेको सीप विकास वर्ष २०८१ घोषणाको निर्णयलाई बागमती प्रदेश युवा परिषद्को नेतृत्वमा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्दछ ।
(४) बागमती प्रदेशका सबै स्थानीय तहहरुको योजना, नीति, कार्यक्रम र बजेट निर्माण तथा कार्यान्वयनमा युवाहरुको अर्थपूर्ण र प्रभावकारी सहभागितामार्फत युवामैत्री स्थानीय तहहरुको प्रवद्र्धन गर्नुपर्दछ ।
(५) स्थानीय तहको सहभागितात्मक योजना निर्माण र कार्यान्वयनमा युवाहरुको सृजनशिल सहभागिता प्रवद्र्धन गर्नुपर्दछ । विभिन्न तहका नीतिगत निर्णय र सोको प्रभावकारी कार्यान्वयनमा युवाहरुको राजनीतिक तथा सामाजिक निर्णायक उपस्थिती प्रवद्र्धन गर्नुपर्दछ ।
(६) युवाहरुको साझा सवालहरुको सम्वोधनका लागि युवाहरुमा लगानी प्रवद्र्धन गरिनु पर्दछ । युवाका सवालमा बागमती प्रदेशसँग सम्वन्धित विशेष अध्ययन, अनुसन्धान तथा तथ्यांक अद्यावधिक तथा सार्वजनिक सेवाहरुमा डिजिटल गभर्नेन्सको अभ्यासमार्फत युवाहरुको पहुँच विकाश गरिनु पर्दछ ।
(७) युवाहरुमा सचेतना, शिक्षा, सृजनशीलता र सहभागिताको प्रवद्र्धन गर्नुपर्दछ । युवालाई देशमै संभावनाहरुको खोजी र युवाहरुका लागि अवसरहरुको पहिचान तथा प्रवद्र्धनमा सहजीकरण आवश्यक छ । विदेशमा कमाएको ज्ञान, सीप, अनुभव र पुँजीलाई नेपालमा लगानी गर्नका लागि आवश्यक नीतिगत सम्वोधन र प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ ।
(८) बागमती प्रदेशका कला, सँस्कृति, पुरातत्व र ऐतिहासिक तथा प्राकृतिक क्षेत्रहरुको पहिचान, अभिलेखीकरण, संरक्षण र प्रवद्र्धनमा युवाहरुको सहभागिता सुनिश्चित गर्नुपर्दछ ।
(९) जलवायु परिवर्तनका नकारात्मक असरहरु, विपद् रोकथाम तथा व्यवस्थापन र वातावरण संरक्षणमा युवाहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धि गरी युवाहरुको नेतृत्वमा जलवायु अनुकुलन, विपद् व्यवस्थापन र वातावरणिय न्यायको प्रवद्र्धन गर्नुपर्दछ ।
(१०) युवाहरुका लागि सुचना प्रविधिमा पहुँच, क्षमता विकास, सीप विकास, युवाहरुले नेतृत्व गरेका संस्थाहरुको संस्थागत सवलीकरण, संजालीकरण र युवाका साझा सवालहरुको सम्वोधन लगायतका सवालमा प्रदेश युवा परिषद् तथा जिल्ला युवा समिति र स्थानीय तहहरुको समेत थप क्रियाशील बनाउनु पर्दछ ।
(११) युवालाई प्राविधिक, गुणस्तरीय, व्यावहारिक र जीवन उपयोगी शिक्षा, सक्षमता, जिम्मेवारीपन, ज्ञान र सीपयुक्त बनाउदै समग्र विकासमा युवाहरुलाई नेतृत्वदायी रुपमा स्थापित गर्न उत्प्रेरित गर्दै समृद्ध बागमती प्रदेश अभियानमा युवाहरुको सहभागितात्मक नेतृत्व प्रवद्र्धन गरिनु पर्दछ ।
(१२) युवाका उत्पादनहरुको ब्राण्डिङ, बजारीकरण र युवालाई उत्पादनमा जोड्नका लागि नवप्रवर्तनसँग सम्वन्धित विशेष नीतिगत व्यवस्थाहरु तय गर्दै भएका व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ ।
(१३) नेपालमा जनसांख्यिक लाभका रुपमा रहेका युवाहरुको वर्तमान जनसंख्या देश समृद्ध बनाउने उपयुक्त अवसर हो । जनसांख्यिक लाभलाई देशको समृद्धिको आधार बनाउनै पर्दछ । युवाहरुका लागि देशमै दिगो र प्रभावकारी संभावनाहरुको खोजी गर्नु पर्दछ । युवामा लगानी बिना देशको समृद्धि हुनै सक्दैन ।