काठमाण्डौ – श्रीलङ्काका खेलाडी तथा पूर्वकप्तान दिनेश चण्डीमलले भैरहवा ग्लाडियटर्सबाट एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रमुख प्रशिक्षक पुबुदु दासानायकेलाई प्रशिक्षकमा नियुक्त गरेको भैरहवाले श्रीलङ्काका ब्याट्सम्यान तथा विकेटकिपर दिनेश चण्डीमललाई अनुबन्ध गरेको हो ।
चण्डीमल श्रीलङ्काको टी–ट्वान्टी टोलीको कप्तानी गर्ने सर्वाधिक कम उमेरका खेलाडी हुन् । सन् २०१३ मा चण्डीमलले बङ्गलादेशसँग २३ वर्ष एक सय ३३ दिनको उमेरमा कप्तानी गर्दै श्रीलङ्काबाट टी–ट्वान्टीमा नेतृत्व गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए । सन् २०१४ मा श्रीलङ्काले विश्व कप जित्दा पनि उनी टोलीका सदस्य थिए । भैरहवामा यसअघि झैँ शरद भेषवाकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, रोहितकुमार पौडेल, हरिशंकर झा, अभिनाश बोहरा, कुशल मल्ल, विकास आग्री र हिमान्शुदत्त स्वदेशी खेलाडीका रूपमा निरन्तर रहेका छन् । ईपीएल असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।