मधेश प्रदेशको मुख्यमन्त्रीमा लागि जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता सरोज यादवलाई आज नियुक्त गरिएको छ । केन्द्रमा रहेको सत्ता समीकरण अनुसार यादवले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गर्नुभएकाे थियाे । दाबी पेस गरे लगत्तै यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुख मिश्रले जानकारी दिनुभयाे ।
१०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेश सभा सदस्यको आवश्यकता पर्छ । यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक/एक तथा स्वतन्त्र प्रदेश सभा सदस्यहरूसहित ६३ प्रदेश सांसदको समर्थन छ ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते अपराह्न चार बजेसम्मको लागि मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय तोक्नुभएकाे थियाे । यादव सोमबार संसदीय दलका नेतामा चयन हुनुभएकाे थियाे । उहाँ २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट सभामुख बन्नुभएकाे थियाे । पछि जसपा विभाजन हुँदा उपेन्द्र यादवको पक्षमा लाग्नुभएकाे हाे ।