हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिनु हुने भएको छ । सोमबार बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त हुनु भएका जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिनु हुने भएको हो ।
माघ ३ गते प्रदेशसभा समक्ष विश्वासको मत लिने बारेमा प्रदेशसभालाई जानकारी गराइसकिएको बागमती प्रदेश सरकारका प्रवक्ता एवमं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताउनुभयो । जम्मकट्टेल प्रदेशसभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बननु भएको हहो । उहाँलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्र केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ ।
११० सदस्यीय बागमती प्रदेशसभामा ३७ सिट रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी र ३ सिट रहेको नपाल मजदुर किसान पार्टी मात्रै प्रतिपक्षमा छ । मंगलबार माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेको कांग्रेसले बागमती प्रदेश सरकारलाई समर्थन गर्न सक्ने सम्भावना देखिन्छ । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका धेरै सांसद यहाँ पनि भएकाले विश्वासको मत दिनुपर्ने आवाज उठिरहेको छ । तर, कांग्रेसले निर्णय भने गरिसकेको छैन ।
बागमती प्रदेशमा पनि माओवादीकै नेतृत्वमा सरकार बनेको र प्रदेशमा पनि पछि सरकार बनाउने सम्भावना जीवितै राख्नको लागि कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्ने कांग्रेसका एक सांसदले बताउनुभयो । केन्द्रमा प्रधामन्त्रीलाई विश्वासको मत नदिएको नेमकिपाले भने प्रतिपक्षमा बस्स्ने स्पष्ट पारिसकेको छ । ७० सांसदको समर्थनमा मुख्यमन्त्री बन्नु भएका जम्मकट्टेललाई कांग्रेसले पनि विश्वासको मत दिए उहाँको समर्थनमा १०७ मत हुनेछ । मुख्यमन्त्री जम्मकट्टेलले कांग्रेस र नेमकिपासँग पनि विश्वासको मत माग्ने तयारी गर्नु भएको बताइएको छ ।