हेटौंडा । आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्राध्यापक डा. कपिलदेव सुवेदीलाई आर्थिक सल्लाहकारमा नियुक्त गर्नुभएको छ । लामो समयदेखि प्राध्यापन पेशामा संलग्न रहँदै आउनुभएको डा. सुवेदी व्यवस्थापन क्षेत्रमा पनि दख्खल राख्नुहुन्छ ।

मन्त्रालयले उहाँलाई बौद्धिक सम्पत्तिको रुपमा प्रयोग गर्ने मन्त्री थपलियाले बताउनुभयो । अहिले बजेट निर्माणको समय भएकाले मन्त्रालयले सहयोगको अपेक्षा गरेको मन्त्री थपलियाले बताउनुभयो । चितवन निवासी डा. सुवेदीबाट प्रदेशलाई अग्रगामी बनाउन कर्मचारीहरूसँग समन्वय गरेर अगाडि बढ्ने मन्त्री थपलियाले अपेक्षा गर्नुभयो । बजेट निर्माणमा उहाँले आफ्नो क्षमताको परिचय दिने पनि बताउनुभयो ।

सल्लाहकारको भूमिका पाउँदा डा. सुवेदी खुशी भएको सल्लाहकार सुबेदीले बताउनुभयो । उहाँले आफ्नो भुमिका जिम्मेवारीपूर्वक निर्वाह गर्ने र यो अवसरलाई जिम्मेवारीका साथ लिने बताउनुभयो ।  डा. सुवेदीले जनताको अपेक्षा बमोजिम योजना बनाउने र गुणस्तरीय सेवा प्रदान गर्न सहयोग गर्ने बताउनुभएको छ। कार्यप्रगतिका लागि हातेमालो गर्ने र सकेसम्म समय दिने उहाँको प्रतिबद्धता छ। यसबाहेक उहाँले इमान्दारीपूर्वक प्रदेश सरकारको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा मन्त्रालयका उपसचिव श्रीकृष्ण आचार्यलगायत मन्त्रालयका कर्मचारीको सहभागिता रहेको थियो ।