मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सहकारीलाई विश्वासिलो वित्तिय सारथीका रुपमा समाजमा स्थापित गराउनुपर्ने बताउनुभएको छ । ‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ भन्ने नारासहित मंगलबार मनाइँदै गरिएको ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सन्दर्भमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले सहकारीमा आइपरेका विकृति-विसंगतिको अन्त्य गर्नुका साथै यसका मूल्यमान्यतामा आधारित भएर सहकारी सञ्चालन गरिनुपर्ने बताउनुभएको हो ।

‘आफ्ना सदस्यहरुको बचत सुरक्षा गर्नु, सहकारीमा आइपरेका विभिन्न विकृतिको अन्त्य गर्नु र यसको मूल्य, मान्यता एवम् सिद्धान्त बमोजिम विश्वासिलो वित्तिय सारथीका रुपमा समाजमा स्थापित गराउनु सहरकारीको आफ्नै दायित्व हो ।’ प्रमुख शर्माको शुभकामना सन्देशमा भनिएको छ ।
पछिल्लो समय सहकारी क्षेत्रमा केही विकृतिहरु देखा परेको भन्दै प्रमुख शर्माले यस्ता विकृति र विसंगतिहरुलाई नियन्त्रण गर्दै नीति, विधि एवम् पद्धति अनुसार सहकारी सञ्चालनका लागि यसमा संलग्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको छ ।
प्रमुख शर्माले आफ्नो सन्देशमा हाम्रो देशमा वि.सं.२०१३ सालमा बखानपुर ऋण सहकारी समिति स्थापित भएसंगै सहकारी अभियान सुरु भएको उल्लेख गर्दै समुदायमा छरिएर रहेको पुँजी र बैंकको पहुँच बाहिर रहेका विपन्न वर्गलाई समेटी उनीहरुको आर्थिक रुपान्तरणमा सहकारीहरुको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ ।
अहिले सहकारी अभियानले ग्रामीण र शहरी क्षेत्रमा तिब्रता पाएको भन्दै प्रमुख शर्माले विशेषतः ‘सबैका लागि एक र एकका लागि सबै’ भन्ने मूल ध्येयका साथ यो अभियान अगाडी बढिरहेको उल्लेख गर्नुभएको छ । सहकारी अभियानले नागरिक सबलीकरणमा योगदान पुर्याइरहेको प्रमुख शर्माको भनाई छ ।
तीव्र आर्थिक वृद्धि र दिगो विकास गर्न सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र विकासमार्फत् उपलब्ध साधन एवं स्रोतको अधिकतम् परिचालन गर्ने कुरा संविधानमै उल्लेख गरी सहकारीलाई अर्थ नीतिको एक खम्बा मानिएको भन्दै शर्माले यसको विकास तथा निरन्तरताका लागि तीनै तहका सरकारको आवश्यक सहयोग र समुचित प्रबन्ध आवश्यक रहेको बताउनु भएको छ । सहकारी आन्दोलनलाई राष्ट्रउत्थानको आधारस्तम्भ बनाउन सबैलाई यो दिवसले अभिप्रेरित गरोस् भन्ने पनि उहाँले व्यक्त गर्नुभएको शुभकामनामा छ ।
