मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले सहि तथ्याङ्क संकलन गर्न गणक तथा सुपरिवेक्षकलाई आग्रह गर्नुभएको छ । गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरणमा खटिने गणक तथा सुपरिवेक्षकहरुको तालिमको आईतबार हेटौंडामा उद्घाटन गर्दै प्रमुख खुलालले तथ्याङ्कमा सत्यता हुनु पर्ने बताउनुभयो ।

राज्यको निति निर्माणमा तथ्याङ्कको महत्व धेरै हुने हुनाले सत्य तथ्य तथ्याङ्क संकलन गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले सत्य तथ्य र निष्पक्ष भएर तथ्याङ्क संकलन गर्न गणक तथा सुपरिवेक्षकलाई सुझाव दिनुभयो ।

दोस्रो चरणमा हेटौंडा उपमहानगरपालिकामा खटिने ३८ जना गणक तथा सुपरिवेक्षकहरुलाई छुट्टा छुट्टै दुई समुहमा आजबाट ५ दिने तालिम प्रदान गर्न लागिएको हो । यस अघि जिल्लाका ९ वटा स्थानियतहमा खटिईने गणक तथा सुरपरिवेक्षकलाई तालिम प्रदान गरिसकिएको छ । जिल्ला समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिसस सदस्य देवराज रिमाल, अधिकृत भीमलाल महर्जनलगायतको सहभागिता थियो ।