हेटौंडा । बागमती प्रदेशसभा स्थापनाको अवसरमा बिहीबार वार्षिकोत्सव मनाएको छ । छैटौँ वर्ष पूरा भएको अवसरमा प्रदेशसभा सचिवालयले बिहीबार हेटौंडामा छैठाैं बार्षिकाेत्सव मनाएकाे हाे ।
बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकको अध्यक्षता एवम् प्रदेश प्रमुख यादबचन्द्र शर्माकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हाे । कार्यक्रमकाे उद्घाटन् गर्दै प्रदेश प्रमुख शर्माले देश संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नामले विभुषित भैसकेको बताउनुभयो । सौम्य¸शान्त र सुरम्य प्रदेश निर्माणमा हामी सबैको अमूल्य योगदान र जीवन्त भूमिका रहनुपर्ने बताउँदै उहाँले भन्नुभयो–‘आजको दिनदेखि हामीले उठाएका हरेक पाईलाहरुले लक्षित गन्तब्य प्राप्त गरुन् । हामीले देखेका सपनाहरु सकार होउन् र बनाएका नीति¸कार्यक्रम र योजनाहरुले निर्दिष्ट लक्ष्य भेदन गर्न सकुन् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।’
मूल विधेयकका अतिरिक्त संशोधन विधेयक तथा साल(बसाली आर्थिक विधेयक र विनियोजन विधेयक गरी जम्मा ७७ वटा विधेयक पारित गरि सकेको उहाँले स्मरण गराउनुभयो । बागमती प्रदेशले आफ्ना आवश्यकता पहिचान गरी आवश्यक परे थप अन्य कानून निर्माणको प्रकृयालाई तीब्रता दिने छ र संसद पनि यस सन्दर्भमा पूर्ण क्रियाशिल रहनेछ भन्ने मेरो दृढ विश्वास लिएको प्रदेश प्रमुख शर्माले बताउनुभयो । हाम्रा विकासको गति केही ढिला भएपनि गन्तव्य पनि सुनिश्चित रहेको प्रदेश प्रमुख शर्माले बताउनुभयो । लामो समयसम्म संसदीय समितिहरू बन्न नसक्नु, कार्यसम्पादनमा अवरोध तथा ढिलासुस्ती हुनु र जिम्मेवारी बोधको अभाव हुनु सुखद सङ्केत नभएको उहाँको भनाई छ । संसद्का समस्याहरू समाधान गर्दै निरन्तरता दिन जरुरी रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभाका सदस्य गिता गुरूङ, मधुसुदन पौडेल, माया श्रेष्ठ, रामप्रसाद ढुंगाना, लक्ष्मीदेवी श्रेष्ठ, प्रदेशसभाका कर्मचारीहरू कानून अधिकृत मनोजकुमार गुप्ता, कम्प्युटर अधिकृत रोशन प्रधान, कम्प्युटर अपरेटर सरिता घिमिरे र कार्यालय सहयोगी मिना ओझालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका कांग्रेसका संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा, नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया लगायतकाले आफ्ना धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा प्रदेशका उपसभामुख अप्सरा चापागाईंले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बागमती प्रदेशसभाले हालसम्म बनाउनुपर्ने कानूनमध्ये ७८ वटा कानून पास भएको र पास भएका कानून मध्ये ४३ वटा ऐन रहेको जनाइएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको हालसम्म ३४ दिन प्रदेशसभा संचालन भएको र ५६ बैठक बसेको थियोे । बैठकबाट प्रदेशसभामा दर्ता भएका १२ विधेयकमध्ये ८ विधेयक पारित भइसकेको जानकारी दिइएको थियो । पास भएकामध्ये एउटा विधेयक पुनर्विचारका लागि प्रदेश प्रमुखबाट प्रदेशसभामा फिर्ता पठाएका छन् । कार्यक्रममा प्रदेशसभाको मोबाइल एप शुभारम्भ एवं पुस्तक विमोचन गरिएको थियो । प्रदेशसभा सचिवालयको प्रांगणमा आयोजित वार्षिक उत्सव कार्यक्रममा प्रदेश सरकारका विभागीय मन्त्री, सांसद, मन्त्रालयका सचिव, सचिवालयका कर्मचारीहरुको उपस्थिति रहेको थियाे ।