मकवानपुर– मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको भन्दा निको हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा ११४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १७६ जना संक्रमण मुक्त भएका छन् ।
२७९ जनामा पिसिआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट थप १ सय १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । योसंगै मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ७ हजार ८ सय ६० पुगेको स्वास्थय कार्यालय प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयो ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा थप १७६ जना कोरोना संक्रमण मुक्त भएका छन् । २४ घण्टामा होम आइसोलेसनबाट १ सय ७३ र संस्थागत आइसोलेसनबाट ३ जना गरी थप १ सय ७६ जना संक्रमण मुक्त भएको उहाँले बताउनुभयो । योसंगै मकवानपुरमा ५ हजार ३ सय ७३ जना संक्रमण मुक्त भएको उहाँले बताउनुभयो ।
य पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण जिल्लामा थप ४ जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत ३ जना महिला र एक जना पुरुषको उपचारको क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । योससंगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको कार्यालयले जनाएकोे छ ।