काठमाडौँ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बिच हालै भेट नभएको प्रष्ट पारेको छ । सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री र प्रधानन्यायाधीशबिच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको जनाउनुभएको हो ।
विज्ञप्तिमा केही अनलाइन पत्रिकाहरूमा प्रधानमन्त्री र प्रधानन्यायाधीशबिच भेट भएको भनी प्रकाशित समाचारहरूप्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउने किसिमबाट प्रकाशित तथ्यहीन र भ्रामक समाचार सच्याउन समेत ध्यानाकर्षण गरिएको छ । स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । जेठ १० गते प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबिच प्रधानमन्त्री निवासमा भेट भनी सार्वजनिक भएको समाचारको खण्डन गर्दै त्यसमा सत्यता नभएको सर्वोच्च अदालतले जनाएको हो ।
सर्वोच्च अदालतको विज्ञप्ति
