अछामको तीन स्थानीय तहका चार ठाउँमा पहिरोले घर पुरिँदा ज्यान गुमाउनेको सङ्ख्या २२ पुगेको छ । जिल्लाको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुने २२ जनाकै सनाखत समेत भएको छ । अछामको तिनै पालिकामा गरी मृत्यु हुनेको सङ्ख्या २२ पुगेको अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताउनुभयो ।
ढकारी गाउँपालिका ६ बस्ने २ बर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका ५ बस्ने १७ बर्षिया जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीय विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीय मनिषा शाही, १७ वर्षीय कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, १ वर्षीय मेनिका शाही, ३ वर्षीय कल्पना शाही, २१ वर्षीय भावना शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी कमलबजार नगरपालिका ६ बस्ने ३० वर्षीय अमृता कामी, १७ वर्षीय समिता कामी, २१ वर्षीय अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीय मैनकला कामी, १५ वर्षीय गिता कामी, १२ वर्षीय सिरु कामको ज्यान गएको छ । उनीहरू एकै घरका हुन् ।
यस्तै कमलबजार नगरपालिका ८ ढुङ्गला बस्ने एकै घरका २६ वर्षीय गम्भीर दमाई, बस्ने २३ वर्षीय भाना दमाई, ६ वर्षीय डिग्रा दमाई, ३ बर्षीय कलु दमाई, ४ वर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी डाँगीले जानकारी दिनुभयो ।
यसैगरी घाइते हुनेमा ढकारी गाउँपालिका ६ बस्ने ६२ वर्षीय हर्क बुढा,२१ वर्षीय चन्द्र देवि बुढा, १२ वर्षीय धर्म बुढा र कमलबजार नगरपालिका ६ बस्ने ८५ वर्षीय भक्त कामी, ४२ वर्षीय इन्द्र सिंह कामी, १२ वर्षीय कल्पना कामी, १२ वर्षीय ममता कामी, १० वर्षीय सुशील कामी, २ वर्षीय सफलता कामी, ३८ वर्षीय डिक्रा कामी र कमलबजार नगरपालिका ६ बस्ने ६५ वर्षीय खटी दमाई रहेको उहाँले बताउनुभयो । पहिरोमा परी ११ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । अछाममा शुक्रबार रातिको अविरल बर्षाका कारण ठुलो जनधनको क्षति भएको छ ।