file photo

प्रतिनिधिसभाको आजको बैठकमा दलका नेताहरूले दलगत रुपमा आ–आफ्नो धारणा राख्नुभएको छ । बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सरकारसँगै संसद् पनि परमादेशबाट नै आएको स्मरण गराउँदै प्रधानमन्त्री देउवाले त्यही कारणले अहिलेसँगै संसद्मा बसेर काम गर्ने अवसर मिलेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गरेको र संघ तथा प्रदेशसभाको निर्वाचन पनि समयमै सम्पन्न गर्ने वातावरण बनिसकेको बताउनुभयो । प्रधानमन्त्री देउवाले गठबन्धन नेतृत्वको सरकारका कारण देशलाई पुनः संविधान बमोजिम मात्र चलाउने पद्धति बसेको उल्लेख गर्नुहुँदै जनताको अधिकार सुनिश्चित गर्न र जनताले सङ्घर्ष गरी ल्याएको संविधानलाई बचाउन राजनीतिक दलबीच सहकार्य गरेर देशलाई पुनः संविधान बमोजिम मात्र चलाउने पद्धति बसेको बतउनुभयो । प्रधानमन्त्री देउवाले अछाम, दार्चुला लगायतका विभिन्न जिल्लामा भएको बाढी पहिरो प्रभावितलाई क्षतिपूर्तिको व्यवस्था गर्ने सरकारको तर्फबाट प्रतिबद्धता जनाउनुभयो ।
प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले यो संसद्ले संविधानको कार्यान्वयनका लागि कानून बनाउन भूमिका खेलेको बताउँदै इतिहासमा नमेटिने खालका काम भएको र राष्ट्रिय स्वाधीनताका सम्बन्धमा महत्त्वपूर्ण काम भएको बताउनुभयो । पूर्व प्रधानमन्त्री ओलीले पछिल्लो समयमा संसद् कमजोर भएको र राष्ट्रियताको पक्षमा उभिन नसकेको भन्दै राष्ट्रिय आवश्यकता एकातिर र संसद्को अङ्क गणित अर्कोतिर भएको बताउनुभयो । पूर्व प्रधानमन्त्री ओलीले जनताको जनादेश एकातिर र संसद्को अङ्क गणित अर्कोतिर गएकोले तात्कालिक समयमा ताजा जनादेशमा जान आफ्नो नेतृत्वको सरकार बाध्य भएको बताउनुभयो ।
बैठकमा बोल्नुहुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षसम्म जस्तो रूपले संसद् जानुपर्थ्यो त्यस्तो जान नसकेको भन्दै भविष्यमा त्यस्तो नहोस् र संविधानको मर्म भावना र लोकतन्त्र अनुसार सदन सुचारु हुन सकोस् भन्ने आफ्नो चाहाना रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले अल्पायुमै विघटनमा परेको संसद्लाई पाँच वर्षसम्म गठबन्धनको सरकारले निरन्तरता दिन सकेकोमा खुसी व्यक्त गर्नुहुँदै अब मुलुक संघ र प्रदेशको निर्वाचनतर्फ उन्मुख भएकाले जनताको फैसलालाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले यस अघिको सरकारले सदनभित्रबाट अर्को सरकार बन्ने सम्भावना हुँदाहुँदै त्यसलाई विघटन गरी संविधानको भावना विपरीत काम गरेकाले आफूहरूले गठबन्धन गर्नुपरेको स्पष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले अहिलेको बेला अन्य कुरामा चर्चा परिचर्चा गर्नेभन्दा पनि आउँदो निर्वाचनलाई स्वच्छ र धाँधलीरहित बनाउन र सफलतापूर्वक सम्पन्न गर्न दलहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले गठबन्धनले संविधान र संसद्लाई बचाउन सफलता मिलेको बताउनुभयो । नेता खनालले नेपालमा अब लामो समयसम्म गठबन्धनको राजनीतिक अगाडि बढ्ने उल्लेख गर्नुहुँदै प्रतिपक्ष दलले गठबन्धन शब्दप्रति कटाक्ष गर्ने गरेपनि राजतन्त्रवादी राप्रपासँग गठबन्धन गर्न बाध्य भएको बताउनुभयो ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने गरी पटक–पटक संसद् विघटन भएको अवस्था बाट पाँच दलीय गठबन्धनले राजनीतिलाई सही दिशा दिन सफल भएको बताउनुभयो । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नेपाल सबै जात जाती र भाषा भाषीको साझा फूलबारी भएकाले त्यस अनुसारको व्यवहार सबै क्षेत्रमा देखिनुपर्ने बताउनुभयो । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीतिक दलहरूको स्वार्थ र गुटबन्दीका कारण राष्ट्रिय सरोकारका मुद्दाहरूमा संसदमा गम्भीर र गहन छलफल हुन नसके पनि संविधान कार्यान्वयनको दिशामा महत्त्वपूर्ण कामहरू भएको बताउनुभयो ।