राष्ट्रियसभा सदस्य निर्वाचन—२०८० अन्तर्गत गण्डकी प्रदेशमा एक मत बाहेक सबै मत खसेको छ । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली बाहेक अन्य सबैको मत खसेको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानले बताउनुभयो ।
प्रदेश सभातर्फ ६० मतदातामध्ये शतप्रतिशत मत खसेको छ भने स्थानीय तर्फ तर्फ १ सय ७० मतदाता मध्य १ सय ६९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । २ सय ३० उम्मेदवार मध्य २ सय २९ जनाले मतदान गर्नु भएको उहाँले जनाउनु भयो ।
गण्डकीमा तीन सिटमा चुनाव भएको हो । केही समय पश्चात् मतगणना गरी यसको नतिजा आज साँझसम्म आउने भएको छ ।
पोखरा–७ रत्नचोकस्थित प्रदेश निर्वाचन कार्यालयको परिसरमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तालिका रहेको थियो ।
गण्डकीमा तीन सिटका लागि आठ जना उम्मेदवार हुनुहुन्छ ।
सत्ता गठबन्धनबाट अन्य समूहमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ(गोरखा) महिलातर्फ नेकपा(माओवादी केन्द्र)का मनरुपा शर्मा(पर्वत) र अपाङ्गता/अल्पसङ्ख्यकमा नेपाली काँग्रेसका पदमबहादुर परियार(तनहुँ) उम्मेदवार हुनुहुन्छ ।
नेकपा (एमाले)का तर्फबाट अन्य समूहमा चक्रबहादुर पराजुली (स्याङ्जा),अपाङ्गता/अल्पसङ्ख्यकमा हेमन्त शेरचन(मुस्ताङ) र महिलामा सम्झना देवकोटा(गोरखा)ले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई पदमा अन्य समूहमा कास्कीका रोमबहादुर भण्डारी र महिलामा तनहुँकी गौमाया श्रेष्ठ उम्मेदवार हुनुहुन्छ ।
राष्ट्रिय सभाका अध्यक्ष समेत रहनुभएका गणेशप्रसाद तिमिल्सिना, राष्ट्रियसभा सदस्यद्धय दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिन लागेकाले चुनाव भएको हो । तिमिल्सिना अन्य, गुरुङ महिला र पन्थ अपाङ्गता/अल्पसङ्ख्यक समूहबाट निर्वाचित हुनुभएको थियो । अध्यक्ष तिमिल्सिना र गुरुङ नेकपा(एमाले) र पन्थ काँग्रेसबाट राष्ट्रियसभामा निर्वाचित हुनुभएको थियो ।
गण्डकी प्रदेशमा प्रदेशसभाका ६० र स्थानीयतहका प्रमुख/उपप्रमुख एक सय ७० गरी दुई सय ३० जना मतदाता छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको छ ।
प्रदेश सभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कूल छ हजार चार सय १० मतभार छ । प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका प्रदेशसभाका २७ र स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी ६७ जना मतदाता रहनु भएको छ । कांग्रेसको कूल मतभार दुई हजार सात सय चार रहेको छ ।
नेकपा एमालेका २२ प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ६८ जना रहनु भएको छ । एमालेको जम्मा मत भार दुई हजार चार सय ५८ हुन आउँछ । यसैगरी माओवादी केन्द्रका प्रदेशसभा सदस्य आठ र स्थानीय तहका प्रमुख÷उपप्रमुख ३० गरी कूल नौ सय ९४ मतभार छ । प्रदेशमा एकीकृत समाजवादीका एक प्रदेश सभा सदस्य र एक नगर प्रमुख गरी समाजवादीसँग ७२ मत भार छ ।
गण्डकी प्रदेशसभामा दुई सदस्य रहेको राप्रपाको एक सय छ मत भार छ । राष्ट्रिय जनमोर्चाको स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी तीन जना रहेकाले ५७ मतभार छ । मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्रबाट जित्नुभएको हो । उहाँको मतभार १९ छ ।