मकवानपुर – हेटौंडामा मंगलबार छुट्टा–छुट्टै संस्थाले गरेको रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गर्नुभएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३६ जना र रोट्र्याक्ट क्लब अफ मकवानपुरको आयोजनामा भएको कार्यक्रममा २० जनाले रक्तदान गर्नुभएको रक्तसञ्चार केन्द्र हेटौंडाले जनाएको छ ।
कोभिड–१९ का कारण रक्तदान कार्यक्रम हुन नसक्दा रगत अभाव भएको पाइएपछि ती संस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । युवा संघले हेटौंडा–५, सानोपोखरास्थित पार्टी कार्यालयमा र रोट्र्याक्टले हेटौंडाको बुुद्धचोकमा कार्यक्रम आयोजना गरेका हुन् । युवा संघद्धारा आयोजित रक्तदान कार्यक्रम युवा संघ नेपाल मकवानपुरका अध्यक्ष लक्ष्मण उप्रेतीको अध्यक्षता एवम् नेकपा एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठसहित नेता, कार्यकर्ता, युवा संघ नेपालका नेता, कार्यकर्ताको पनि उपस्थिति रहेको थियो ।
यस्तै रोट्र्याक्ट क्लब अफ मकवानपुरको आयोजनामा बुुद्धचोकमा भएको कार्यक्रम रोट्र्याक्ट क्लब अप मकवानपुरकी अध्यक्ष प्रतीक्षा न्यौपानेको अध्यक्षता एवम् रोटरी क्लब अफ मकवानपुरका निर्वाचित अध्यक्ष कृष्णबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको हो । पछिल्लो समय हेटौंडा रगतको अभाव भएसँगै संघसंस्थाहरुले दैनिकरुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छन् ।