मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले सबैको सकारात्मक प्रयासबाट मात्र पुनर्निर्माणको कार्य सम्पन्न गर्न सकिने बताउनुभएको छ । जिल्लाभित्र पुनर्निमाण भईरहेका विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरु बीचमा बुधबार हेटौंडामा आयोजित अन्तरकृया कार्यक्रममा प्रमुख खुलालले सफलता प्राप्त गर्न सबैको सकारात्मक प्रयास जरुरी रहेको बताउनुभएको हो ।

जिल्लामा विद्यालय पुनर्निमाणको अवस्था, भोगेका समस्याहरु र पुनर्निर्माण भईरहेका विद्यालयहरु समयावधिमा सम्पन्न गर्ने गरी पारदार्शिता कायम होस भन्ने उद्ेश्यले संयुक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पुनर्निमार्ण भइरहेका विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुले मकवानपुर जिल्लाका कतिपय क्षेत्र विकट भएकाले ढुवानीको समस्या रहेको, कतिपय विद्यालयमा जग्गाको अभाव रहेको, विकट क्षेत्रमा कामदार पाउन समस्या रहेको, मुल्य बृद्धिले समस्या परेको, प्राविधिक पिछे फरक फरक कुरा हुने जस्ता समस्या रहेको बताउनुभएको थियो । कार्यक्रममा उठेका समस्याहरुको जिल्ला आयोजना ईकाई (शिक्षा) का तर्फबाट स्पष्ट पारिएको थियो ।

जिल्ला आयोजना ईकाई (शिक्षा) र ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपालको संयुक्त आयोजनामा जिल्लामा पुनर्निमाण भईरहेका विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरु बीचमा हालसम्मको अवस्था र आइपरेका समस्या समाधानकालागि कार्यक्रमको आयोजना गरिएको हो । जिल्ला आयोजना ईकाई (शिक्षा) का प्रमुख बद्री बहादुर पाठकको अध्यक्षतामा भएको कार्यक्रममा ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपालकी जिल्ला संयोजक प्रमिला थिङलगायत जिल्लाका विभिन्न पुनर्निर्माण भईरहेका विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरु त्था प्रधानाध्यापकहरुको सहभागिता थियो ।