मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले लैङ्गिक हिंसा अन्त्यका लागि समृद्ध समाज निर्माण गर्नुपर्ने बताउनुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै प्रमुख खुलालले हिंसाको प्रमुख कारण मध्ये आर्थिक स्थित महत्वपूर्ण भएकाले आर्थिक रुपमा समृद्ध समाज निर्माणमा तनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभएको हो ।

प्रमुख खुलालले तीनै तहका सरकारले उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी नागरिकको जीवनस्तर माथि उठाई समृद्ध समाज निर्माण र अधिकार सुरक्षित गर्न र सो सचेतना अभिबृद्धि गर्न सके लैङ्गि हिंसा अन्त्य गर्न सकिने उहाँको भनाई थियो । व्यक्ति, समाज र सिङ्गो राष्ट्रलाई लैङ्गिक हिंसाको नकारात्मक प्रभावबाट बचाउँदै सभ्य र सुसंस्कारयुक्त जगमा उभ्याउनुपर्ने अहिलेको आवश्यक्ता भएकोे भन्दै प्रमुख खुलालले तीनै तहका सरकार लैङ्गिक हिंसाविरूद्धका कानूनी तथा संस्थागत व्यवस्थालाई मजबुत गरी संवेदनशील र महत्वका साथ अगाडि बढाउनु पर्ने बताउनुभयो ।

प्रमुख खुलालले विशेष गरि स्थानीय तहहरुले अहिले भौतिक निर्माणलाई प्राथमिक्ता दिएर काम गरिरहेको भन्दै भौतिकसंगै सामाजिक क्षेत्रमा पनि ध्यान दिन आग्रह गर्नुभयो । लैङ्गिक हिंसा अन्त्यका लागि तीनै तहका सरकार र विभिन्न संघ सस्था र नागरिक सबैको सकारात्मक सोच्का साथ प्रयास गर्न जरुरी रहेको उहाँको भनाई थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीले लैङ्गिक हिंसा अन्त्यका लागि रणनितीक योजनाका साथ लाग्न जरुरी रहेको बताउनुभयो । उहाँले स्थानीय तहले आफ्ना योजनाहरु बनाउँदा समाजिक क्षेत्रलाई पनि प्राथमिक्ता दिएर काम गर्नुपर्ने बताउनुभएको छ ।
जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, मनहरी गाउँपालिकाका अध्यक्ष, एकराज उप्रेती, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, भीमफेदी गाउँपािलकाका अध्यक्ष हिदम लामा, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा , बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेललगायत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती थियो ।