सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलब ८६ मिटर कायम भएको छ । नेपाल र चीन सरकारले आज संयुक्त रुपमा सर्वोच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । नेपालले करीब दुई वर्ष लगाएर पहिलो पटक आफ्नै स्रोतसाधनले सगरमाथाको उचाइ मापन गरेको हो ।
यसअघिको सगरमाथाको उचाइ ८८४८ मिटर सन १९५४ मा सर्वे अफ इन्डियाले मापन गरेको थियो । गत वर्ष चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता भएको थियो । सगरमाथाको नयाँ उचाइ घोषणा कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सगरमाथाको मापनले यसको आधिकारीक एवं वैज्ञानिक तथ्य प्राप्त भएको बताउनुभयो ।
परराष्ट्र मन्त्री ज्ञवालीले नेपालले केही समयअघि नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको स्मरण गर्नुहुँदै सगरमाथाको नयाँ उचाइ घोषणा अर्को महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो । मन्त्री ज्ञवालीले हिमालय पर्वत श्रृंखला २ अर्ब मानिसको खानेपानीको श्रोत भएकाले जलवायु परिवर्तनको जोखिमबाट जोगाउनु चुनौतीपूर्ण रहेको हुँदा यसमा सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सगरमाथाको मापनबाट नेपालको भूमापन कार्यको लागि आवश्यक भूधरातलीय स्वरुप निर्धारण गर्न सहयोग पुगेको बताउनुभयो । विभिन्न देशहरुले गरेको उचाइ मापनमा सगरमाथाको उचाइ फरक फरक देखाएकोमा नयाँ मापनले सबै आशंका र दुविधाहरुको अन्त्य गरेको बताउनुभयो ।
नापी विभागका महानिर्देशक प्रकाश जोशीले आफ्नै स्रोत साधन र जनशक्तिको प्रयोगबाट विश्वको सर्वोच्च शिखरको मापन गर्नु विभागका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
नेपालमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनमा चिनियाँ विदेशमन्त्री वाङ यी ले एकैसाथ भर्चुअल रुपमा सगरमाथाको नयाँ उचाई घोषणा गर्नुभएको थियो ।
त्यस अवसरका सगरमाथाको उचाइ मापनमा योगदान पुर्याउनु हुने प्रमुख नापी अधिकृत खीमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्वेक्षक सुरज सिं भण्डारी र अमिन युवराज धिताललाई सम्मान गरिएको थियो ।