मकवानपुर– बागमती प्रदेशसभाको चालु पाँचौ अधिवेशन अन्त्य भएको छ । बिहिबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरि आज राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो ।
विहिबारको संसद बैठकमा सभामुख सानुकुमार श्रेष्ठले पुस २१ गतेबाट शुरु भएको पाँचौ अधिवेशन विहिबार राति १२ बजेबाट अन्त्य हुने प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । विहिबार विहान बसेको प्रदेश मन्त्रीपरिषद बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
आज बसेको प्रदेश सभा बैठकले दुई वटा विधेयक पारित गरेको छ । बैठकले स्थानीय तहका पदाधिकारी, सस्दयहरुको सेवासुविधको संशोधन गर्न बनेको विधेयक २०७६ र प्रदेशमा युवा परिषद् गठनको व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई सर्वसहमतिबाट पारित गरेको हो । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले स्थानीय तहका पदाधिकारी, सस्दयहरुको सेवासुविधको संशोधन गर्न बनेको विधेयक र सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेशमा युवा परिषद् गठनको व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरियोस् भनि छुट्टाछुट्टै प्रस्ताब प्रस्तुत गर्नुभएको थियो । दुवै प्रस्ताव सर्वसम्मतीले पारित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । यस अघि ३ नम्बर प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको लागि पारिश्रमिक र सुविधा उपलब्ध गराउने सम्बन्धि ऐन २०७५ प्रदेशसभाबाटै पारित गरि प्रमाणिकरण भइसकेको थियो । तर, सर्वोच अदालतमा रिट परेपछि सो ऐन गत कात्तिक १ गते खाजेज गरिएको थियो ।
चालु अधिवेशनमा २५ वटा बैठक बसेको, ७ वटा विधेयक र एउटा अध्यादेश दर्ता भएकोमा ४ वटा विधेयक र एउटा अध्यादेश पारित भएको सभामुख श्रेष्ठले जानकारी दिनुभयो । अधिवेशनमा १ पटक मौखिक र २ पटक लिखित प्रश्नोत्तरको कार्यक्रम भएको उहाँले बताउनुभयो । चालु अधिवेशनको महत्वपूर्ण उपलव्धीको रुपमा प्रदेशको राजधानी र नामकरणको टुंगो लगाउनुलाई लिईएको छ ।