निशा गुरुङ/ हेटौंडा
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्माओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले उक्त कदम असंवैधानिक भन्दै आन्दोलमा उत्रिएको छ । पार्टीको विवादपछि मकवानपुर नेताहरु एकले अर्कोलाई आरोप÷प्रत्यारोप लगाउँदै आएका छन् । पार्टीका नेताहरु एकअर्कालाई गम्भीर आरोप लगाउन र खुइल्याउन उद्धत् देखिन्छन् । प्रतिनिधिसभा विघटनदेखि विभाजित नेकपाका दुई समूहबीच कार्यक्रम र कार्यकर्ता आफ्नो पक्षमा तान्न प्रतिस्पर्धा चलेको छ । दुवै समूह एकले अर्कोलाई आरोप लगाउँदै बैठक र कार्यक्रम राखेर कार्यकर्ता आफ्नो पक्षमा पार्ने होडमा छन् ।
यसैबिच मकवानपुरमा हेटौंडा–५ स्थित पुष्पलाल पार्कनजिक रहेको नेकपा पार्टी कार्यालयमा प्रचण्ड–माधव पक्षले छुट्टै ताला लगाएपछि ओली पक्षले पनि त्यसमाथि अर्को ताला लगाएर अर्को समूहलाई प्रवेश नदिने घोषणा गरेको छ । पुस २५ गते ओली समूहले हेटौंडामा गरेको अगुवा कार्यकर्ता भेलामा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले पार्टी कार्यालयको हिसाब हिनामिना भएको आरोप लगाउँदै त्यो हिसाब एकएक खोजी गर्ने बताएका थिए । अध्यक्ष लामाले आफूहरुले खाइनखाइ लेबी तिरेर जम्मा गरेको रकम सजिलै लान नपाइने भन्दै त्यसको एकएक चुक्ता गर्नुपर्ने बताए । तर, प्रचण्ड–माधव समूहले गरेको जनवर्गीय संगठनको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा प्रचण्ड–माधव समूह जिल्ला अध्यक्ष एवम प्रदेशसभा सदस्य मुनु सिग्देलले हिसाब खोज्दा उनीहरुलाई नै लाजमर्दो विषय भएको टिप्पणी गरेकी थिइन् ।
उनले पार्टी कार्यालयको ऋणसमेत आफूहरुले तिरेको र कार्यालयका सबै मर्मतसम्भार आफूहरुले गरेको दाबी गरेकी छन् । सिग्देलले ओली पक्षका नेताहरुलाई दशैंमा लगेको पैसासमेत फिर्ता नगरेको भन्दै आरोप लगाएकी थिइन् । उनले पार्टी कार्यालयको रकम आफूहरुको र त्यसमा कसैले “हिसाब नखोज्न” चेतावनी दिएकी थिइन् । प्रदेशसभा सदस्यलाई पार्टी कार्यालय कोषको रकमबारे सोधपुछ गर्दा पार्टी कार्यालयको रकम पार्टी एकता भएको ३ वर्ष बितिसक्दा पनि पूर्वएमालेकै खातामा रहेको हुनाले आफूहरुले नेकपाको खातामा परिवर्तन गरेको बताएकी छन् ।
यता हेटौंडा–४ का वडा अध्यक्ष तथा नेकपा मकवानपुरका कार्यालय सचिवालय तथा आर्थिक विभाग सदस्य नवीन सिग्देलले पार्टी कार्यालयमा आफ्नो हस्ताक्षर चलिरहको तर केन्द्रबाट विवाद आउन थालेपछि अर्को समूहले हस्ताक्षर परिवर्तन गरिसकेको बताए ।आर्थिक विभागमा ३ जना रहेको र त्यसमा अनिवार्यरुपमा आफ्नो हस्ताक्षर रहेको हुँदा भोलि के हुन्छ/कसो हुन्छ भन्ने सोचले पैसा लिएर हिँडिहालौं जस्तो हर्कत गरिएको उनको आरोप छ । पार्टी कार्यालयका कानुनी कुराहरु समाधान नगरी पैसा लिने तथा कागजपत्र र सम्पत्तीहरु कसरी आफूतिर पार्न सकिन्छ भन्दै चोरबाटो जालझेल गरिएको वडाध्यक्ष सिग्देलले दाबी गरे । ‘पार्टी सदस्यहरुले लेबी तिरेर खडा गरेको कोष पूर्वमाओबादी र पूर्वएमालेले सम्पत्ती केकति भन्ने आउनुपर्ने हो ?’ उनले थपे–दुईवटाकै आम्दानी/खर्च आउनुपथ्र्यो । तर, खाता सञ्चालनका लागि एकलौटीरुपमा हस्ताक्षर परिवर्तन गरियो । उनले भने–यसको एकएक हिसाब लिनेछौं । सिग्देलले पार्टीका जिम्मेवार मान्छेहरुले रातरात पार्टी कार्यालयको खाता परिवर्तन गरेको र आफ्नै पार्टी कार्यालयमा आफैं ताला लगाएर भाग्नेले आफ्नो पार्टीको आफैं संरक्षण गर्नसक्छु भन्ने विश्वास नभएको दाबी गरे । ‘कायरहरु आर्थिक हिसाबबाट उम्किन पाउने छैनन्,’ उनको कथन छ । पुस ३ गतेसम्म आफ्नो हस्ताक्षर चलिरहेको कोषमा ६ गते अर्को खाता बनाएर रकम ट्रान्सफर गरिएको उनले बताए । पार्टी कार्यालयको कोषमा ९ लाख ३५ हजार रहेको उनले बताइन ।