हेटौंडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले मानवसेवा आश्रमको हेटौंडा स्थित मुख्य कार्यालयलाई सहयोग गरेको छ । जिल्ला प्रशासन कार्यालयका तर्फबाट सोमबार एक दिनको भोजन बराबरको सहयोग गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आश्रममा एक दिनभरीको भोजनसेवा बराबरको सहयोग गर्नुका साथै आश्रितहरूलाइ खाना खुवाउनुभएकाे आश्रमका अभियन्ता होमनाथ पौडेलले बताउनुभयो । बिहानको चिया खाजा, दिउसोको खाना खाजा र बेलुकीको खाना गरि ३० हजार रुपैयाँ बराबरको सहयोग प्राप्त भएको पौडेलले बताउनुभयो । आश्रममा हाल १७० जना आश्रित रहेका छन् ।
कार्यक्रममा प्रजिअ रिजालले मानवसेवा आश्रमको महाअभियान सबैको भएको भन्दै यसमा सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ । उहाँले आगामी दिनमा समेत मानवसेवा आश्रमलाई आफ्नो तर्फबाट हुने सहयोगको प्रतिबद्दता जनाउनुभएकाे छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिह राठोर, राष्ट्रिय अनुसंधान कार्यालय मकवानपुरका उप–अनुसन्धान निर्देशक लिलाधर पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत देव चन्द्र गर्तौलालगायतको सहभागिता थियो ।