पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका १० जवाङ खोलामा पहिरोले गाडी पुरिदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६, बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र चितवनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीय सोनी देवीको मृत्यु भएको धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले बताए ।
पहिरोले सवारी साधन पुरिदा ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका ६, का ४० वर्षीय हरि बहादुर प्रजा, चितवन भण्डाराका ३६ वर्षीय सुदिप प्रजा घाइते भएका छन् । घाइतेहरूको चितवनमा उपचार भइरहेको छ । त्यस्तै ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतका ५५ वर्षीय राकेश कुमार, ७ वर्षीय शुभम कुमार, २७ वर्षीय सन्देश कुमार र २५ वर्षीय राजा कुमार घाइते भएका छन् । उनीहरूको पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिए । अविरल वर्षासँगको पहिरोले पृथ्वी राजमार्गको ठाउँ ठाउँमा बाटो अवरुद्ध छ । अवरुद्ध राजमार्ग गाउँपालिका र सडक विभागको डोजरले खुलाउने कार्य भइरहेको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पीत्तबहादुर डल्लाकोटीले जानकारी दिए ।











