file photo

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तोकेको छ । निर्वाचन आयोगले आज एक प्रेस विज्ञप्ती जारी गर्दै उम्मेदवारले तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी हद तोकेको हो ।
उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, इन्धन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचार प्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उम्मेदवारले बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली खर्च गर्न र खर्च गर्ने पदाधिकारीसहितको विवरण निर्वाचन कार्यालयमा जानकारी गराउन पनि आयोगले निर्देशन दिएको छ । त्यसैगरी, निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्न समेत आयोगले निर्देशन दिएको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचन यही माघ ११ गते हुदैछ ।