मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले ऐतिहासिक, पुरातात्वीक क्षेत्रबाट आर्थिक विकासमा टेवा पुग्ने बताउनुभएको छ । मकवानपुरगढि गाँउपालिका–२ स्थित ऐतिहासिक मकवानपुरगढीको २५७औं विजयोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले ऐतिहासिक, पुरातात्वीक क्षेत्रको सम्बद्धन र प्रर्बद्धनगर्न सकेमा पर्यटन बृद्धि हुनुका साथै आर्थिक विकासमा समेत टेवा पुग्ने बताउनुभएको हो ।
प्रमुख खुलालले देश अहिले आर्थिक समृद्धिको अभियानमा अघि बढेको भन्दै सबैले अभियान सफल बनाउने काममा जोड दिनु पर्ने बताउनुभयो । आर्थिक समृद्धि प्राप्तीका लागि उत्पादनसंग जोडिनुपर्ने भन्दै कुनै न कुनै किसिमले सबैको योगदान आवश्यक रहेको उहाँको भनाई थियो । आर्थिक विकासको लागि ऐतिहासिक धरोहरहरुको संरक्षण गर्दै पर्यटन प्रबद्र्धन गर्नुपर्ने प्रमुख खुलालले बताउनुभयो । प्रमुख खुलालले कृषि र पर्यटनलाई सँगै जोडे मात्रै समृद्धि सम्भव हुने भएकाले मकवानपुरजस्तो ऐतिहासिक क्षेत्रमा पर्यटन प्रवद्धन गरी लाभ हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।
मकवानपुरगढि गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको अध्यक्षता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतिनिधि सभाका अर्थ समितिका अध्यक्ष कृष्ण दाहाल, प्रदेश सांसद प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती लगायतकाको आतिथ्यता रहेको थियो । एक हजार १७ मिटरको उचाइमा रहेको मकवानपुरगढिलाई नेपाल सरकारले सय वटा महत्वपूर्ण गन्तब्य मध्ये मकवानपुरगढीलाई पनि सूचीकृत गरेको छ ।