मकवानपुर । बागमती प्रदेश सरकारको वर्षे (बजेट अधिवेशन) आगामी जेठ ५ गतेबाट शुरु हुने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले आगामी अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुुसार मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गते बिहान ११ बजेका लागि अधिवेशन आव्हन गर्ने गरी प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति कार्यक्रम माथि छलफल गर्न प्रदेशसभा अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय भएको उहाँले बताउनुभयो । बागमती प्रदेश प्रदेशसभाको हिउँदे अधिवेशन बैठक गत चैत २० गते अन्त्य भएको थियो ।
५ जना सचिवहरूको पदस्थापन तथा सरुवा
मन्त्रिपरिषद् बैठकले ५ जना सचिवहरूको पदस्थापन तथा सरुवा गरेको छ । बैठकले संघीय सरकारबाट सरुवा भई आएका ३ सचिवको पदस्थापन गरेको हो भने २ सचिवको जिम्मेवारी हेरफेर गरेर सरुवा गरेको हो । बैठकले संघीय सरकारबाट आउनु भएका वैकुण्ठ अधिकारीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेमराज भुसाललाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा झलकराम अधिकारीलाई जिम्मेवारी तोक्ने निर्णय गरेको प्रवक्त लामिछानेले बताउनुभयो । यस्तै बैठकले सामाजिक विकास मन्त्रालयको सचिवमा हाल उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा कार्यरत सचिव बिनु बज्राचार्य र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा प्रदेशसभा सचिवालयमा कार्यरत सचिव पूर्णबहादुर दर्जीलाई जिम्मेवारी तोक्ने निर्णय पनि गरेको उहाँले बतउनुभयो ।
पर्यटन विकास आयोजना र कार्यालय खारेज
मन्त्रिपरिषद् बैठकले प्रदेश मातहतका पर्यटन विकास आयोजना सहितका ४ वटा कार्यालयहरु खारेज गर्ने निर्णय गरेको छ । बैठकले संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजना हेटौँडा र पर्यटन विकास आयोजना इकाइ कार्यालय काठमाडौंm उपत्यका पर्यटन कार्यालय काठमाडौं र पर्यटन कार्यालय चितवनलाई खारेज गर्ने निर्णय गरेको हो । अस्थायी संरचनाको रुपका रहेको उक्त कार्यालयहरु खारेज गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।
बैठकले उक्त कार्यालयहरुको विकल्पमा स्थायी संरचनाको रुपमा पर्यटन कार्यालहरु स्थापना गरेको छ । बैठकले प्रदेश राजधानी हेटौँडामा मन्त्रालय र एक कार्यालय रहने व्यवस्था गरेको छ भने अन्य ४ जिल्लाहरुमा कार्यालय राख्ने निर्णय गरेको हो । बैठकले हेटौँडासहित नुवाकोट दोलखा चितवन र काठमाडौंमा पर्यटन कार्यालय खडा गर्ने निर्णय गरेको छ । बैठकले प्रशासनका कर्मचारी प्रमुख रहनेगरी मन्त्रालय र मातहतका निकायमा साविकको ११७ जनाको दरबन्दीलाई घटाएर १०६ कायम गरेको हो । यसअघि २ वटा आयोजनामा प्राविधिक तर्फका इन्जिनिय र वन अधिकृत प्रमुख रहने व्यवस्था रहेको थियो ।
बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरेको छ । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कम्प्युटर अपरेटर (सहायक पाँचौ÷अधिकृत छेठौं) लाई प्रशासनिक कर्मचारीको रुपमा प्रयोग गर्नेगरी दरबन्दी तेरिज स्वीकृत गरेको लामिछानेले बताउनुभयो ।