मकवानपुर– भारत बाहेक तेस्रो मुलुकबाट करीब एक महिनामा मकवानपुरका ३१८ जना घर फर्किएका छन् । विश्वव्यापीरूपमा कारोना भाइरस सङ्क्रमण फैलँदै गएपछि सरकारले तेस्रो मुलुकबाट नेपालीलाई स्वदेश ल्याउने क्रममा उनीहरु जिल्ला फर्किएका हुन् ।
एक महिना यता विभिन्न मुलुकबाट जिल्लाका विभिन्न स्थानका ती नागरिक फर्किएको जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जनाएको छ । जिसस मकवानपुरले जिल्ला सदरमुकाम हेटौंडामा सञ्चालन गरेको होल्डिङ सेन्टरमा हालसम्म भारत बाहेकका तेस्रो मुलुकबाट आएका ३१८ जना मात्र मकवानपुरेले सेवा लिएको जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । उनीहरूमध्ये हाल केहि स्थानीय तहका क्वारेन्टिनमा बसेका छन् भने केहि होम क्वारेन्टाईनमा बसेको साथै केहि क्वारेन्टिन अवधि सकिएर घर फर्किसकेका छन् । होल्डिङ सेन्टर संचालनले विदेशबाट आउनेहरुलाई मात्र नभई सम्बन्धीत स्थानीय तहलाई पनि सहजता मिलेको छ ।
“स्थानीय तह तथा विभिन्न संघ संस्थाको सहयोग र सहकार्यमा गत जेठ २८ गतेबाट हामीले होल्डिङ सेन्टर सञ्चालन गरेका हौं प्रमुख खुलालले भन्नुभयो ।” होल्डिङ सेन्टर संचालनका सन्र्दभमा स्थानीय तहसंग के गर्ने भन्दा यसलाई निरन्तरता दिनुपर्ने सुझाव आएको छ । स्थानीय तह समन्वय बैठकमा स्थानीय तहका प्रमुखहरुले बाहिरबाट आउनेहरुका लागि सहजता मिलेकोले यसको निरन्तरता गर्ने सुझाव आएको उहाँले बताउनुभयो । काठमान्डौंबाट सदरमुकामसम्म आएपछि काँहा जाने, के गर्ने अन्यौलता हटेको र स्थानिय तहले समेत आफ्ना नागरिकलाई लानका लागि सहजता मिलेको भन्दै अवश्यक परे थप सहयोगको प्रतिवद्धता जनाएको तर सेन्टर संचालन गर्ने कुरा आएको उहाँले बताउनुभयो । “तेस्रो मुलकबाट जिल्लाका नागरिक आउने क्रम जारी छ ।” तेस्रो मुलुकबाट फर्केलगत्तै काठमाडौँको बसुन्धरास्थित वाग्मती प्रदशेको होल्डिङ सेन्टर बसेका मकवानपुरेलाई सदरमुकाम हेटौंडा स्थित होल्डिङ सेन्टरमा ल्याई स्थानीय तहको जिम्मा लगाइने गरिएको छ ।
“होल्डिङ सेन्टरमा सेवा लिनेहरुबाट समेत सकारात्मक प्रतिकृया आएको हुनाले यसलाई अझै थप व्यवस्थित रुपमा संचालन गर्ने योजना बनाएका छौं” प्रमुख खुलालले भन्नुभयो । “होल्डिङ सेन्टरमा हालसम्म प्रणामी सेवा समाज मकवानपुरले निशुल्क खाना खुवाएर सहयोग गरेको तर, उहाँहरुको आफ्नै व्यस्थताले नसक्ने हुनाले अब हामी आँफै खानाको व्यवस्था समेत गर्दैछौं । होल्डिङ सेन्टरमा सरसफाई, तातो चिसो पानीको व्यवस्था, सुत्ने तथा आराम गर्ने व्यवस्था साथै मनोरञ्जनका लागि वाईफाईको समेत व्यवस्था गरेका छौं”– उहाँले भन्नुभयो । होल्डिङ स्टेसनको व्यवस्थापनका स्वकीय सचिव आशाकाजी श्रेष्ठलाई फोकल पर्सन तोकेर व्यवस्थापनको जिम्मा लगाएका छौं । त्यसले होल्डिङ स्टेसनमा समन्वय र सहजीकरणमा अझ थप सहजता मिलेको उहाँले बताउनुभयो । उहाँले होल्डिङ स्टेसनमा सहयोग गर्ने संघसंस्थाहरुलाई व्यक्तिगत रुपमा धन्यवाद समेत दिनुभयो ।
प्रमुख खुलालका अनुसार हाल तेस्रो मुलुकबाट आउने जिल्लाका नाकरिकमा आजसम्म ३४ जना महिला २८४ जना पुरुष गरि जम्मा ३१८ जनाले सेवा प्राप्त गरेका छन । जसमध्ये साउदी अरबबाट ८६ जना, कुवेतबाट ३६ जना, ओमानबाट ६ जना, कतारबाट ४२ जना, दुवईबाट ७६ जना मलेसियाबाट ४१ जना र अन्य मुलुकबाट ३१ ज्ना गरि ३१८ जना फर्किएका हुन । उहाँका अनुसार होम क्वारेन्टिनमा बस्न चाहनेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेबमोजिमको होम क्वारेन्टिनसम्बन्धी पालना गर्ने गरी होम क्वारेन्टिन बस्ने अनुमति समेत दिएको छ भने जिल्लामा होटल क्वारेन्टाईनको समेत व्यवस्था गरिएको छ । उहाँका अनुसार तेस्रो मुलुकबाट आई आफैं खर्च व्यहोर्न चाहनेलाई सदरमुकाम हेटौंडाका होटल क्वारेन्टिन समेत व्यवस्थित गरिएको छ । जिससले संचालन गरेको हाेल्डिङ सेन्टरका कारण जिल्लाका स्थानीय तहहरुलाई समेत सहज भएको पाएको उहाँले बताउनुभयो । “यसलाई थप व्यवस्थित रुपमा कम्तीमा आगामी दशैसम्म सञ्चालन गर्ने योजना छ ।”–प्रमुख खुलालले भन्नुभयो ।