बीरगंज स्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणकोक्रममा जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका ४३ जना थुनुव सहित १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप संक्रमित मध्ये पर्साका १ सय ३३ जना बाराका ४ र रौतहटका ४ गरी १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनुभयो ।

संक्रमित मध्ये २१ जना महिला र १ सय २० जना पुरुष रहेका छन् । संक्रमितहरु ८ वर्षको बालकदेखि ७९ वर्षका वृद्धसम्म रहेका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर उपाध्यायले बताउनुभयो । पिसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि हुनेमा नारायणी बयोधा अस्पताल गण्डकका ५ जना डाक्टर र १४ जना कर्मचारी समेत छन् । त्यसैगरी,नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका एकजना चिकित्सक,नेपाली सेनाका ५ जना सैनिक जवान, १ जना नेपाल प्रहरीका जवान समेत संक्रमित भएका छन् ।

थप संक्रमित हुनेमा वीरगंज महानगरका नगरप्रमुख विजयकुमार सरावगीका परिवारका सदस्य ७२ वर्षिय पुरुष र ६८ वर्षिया महिलासमेत रहेका छन् । कन्ट्र्याक्ट टेसिङ्ग तथा एक घर एक पिसीआर अभियान अन्तर्गत गरिएको परिक्षणको क्रममा बीरगन्ज महानगरपालिका विभिन्न क्षेत्र भित्र यत्तिखेर संक्रमित पहिँचान भइरहेको छ ।

महानगरेको चिनीमिल, श्रीपुर, तेजारथ टोल, गण्डक बहुअरी, मुर्ली, भिस्वा, घडिअर्वा, सबैठवा, पिपरा, रानीघाट, खल्वाटोला श्रीसिया, छपकैया लगायतका ठाउँमा कन्ट्र्याक्ट टेसिङ्ग भइरहेको छ । त्यसैगरी प्रतिमा चोक, पृथ्वीनगर, गणेश चोक, आदर्शनगर, अलौं, फुलबारी टोल, अशोक वाटिका, भवानीपुर टोलमा नयाँ संक्रमित थपिएको मेडीकल सुपरीटेण्डेन्ट उपाध्यायले बताउनुभयो । बीरगंज संगै जोडिएको पर्सागढी नगरपालिकाका २ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।