मकवानपुर । मकवानपुरको बागमती गाँउपालिका–५ सिक्रेदोभानमा पहिरोले घर बगाउदा हराइरहेका ६ जनामध्ये एकजनाको जिबितै उद्धार गरिएको छ । पहिरोमा परि हराईरहेका मध्ये सिन्धुली हरिहरपुर–१ कोकटीका १७ बर्षीय पासाङ घिसिङलाई घाइते अवस्थामा उद्धार गरिएको हो ।
विहानदेखि हराइरहेका उनलाई अपरान्ह घटनास्थलदेखि करीब ७ किलोमिटर तल बगेरीस्थित बागमती खोलामा मुढामा तैरिएको अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । उनको खुट्टा भाँचिएको र आफन्त र स्थानीयसहित एम्बुलेन्समार्फत उपचारका लागि हेटौंडा पठाईएको प्रहरीले जनाएको छ ।
यसैबीच प्रहरीले पहिरोमा परि हराइरहेका स्थानीय अक्कल बहादुर स्याङतान, उनकी छोरी २२ बर्षीय शिला पहरी, शिलाका श्रीमान २५ बर्षीय जिबन पहरी, शिलाकी ४ बर्षीय छोरा मिलन पहरी, डेढ बर्षीया छोरी दिब्या पहरीको खोजी कार्य आजका लागि स्थगित गरेको छ । घटनास्थल दुर्गम स्थानमा रहेको, सडक मार्ग अप्ठेर रहेको र भेल आउन सक्ने र रातको समयमा खोजि तथा उद्धार कार्य कठिन हुने भएकाले आजलाई खोजि कार्य रोक्नुपरेको कार्कीले बताउनुभयो । बुधबार बिहानैबाट आवश्यक तयारी र थप टोली सहित पहिरोमा वेपत्ता भएकाको खोजि कार्यलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।
खोजि कार्यमा जिल्ला प्रहरी कार्यलय मकवानपुर, इलाका प्रहरी कार्यलय फापरवारी, प्रहरी चौकी भोर्लेनी र झुरझुरेबाट प्रहरी निरीक्षकको कमाण्डमा करिब ३५ जना जनशक्ति परिचालन गरिएको थियो । पहिरोमा परि उद्धार गरिएकी अक्क्ल बहादुरकी श्रीमती ५५ बर्षीया सन्त माया स्यांतानको उपचारको विहानै फापरवारीस्थित स्वास्थ्य संस्थामा मृत्यु भएको थियो ।











