मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढिको ईतिहासलाई कसैले पनि भुल्न नहुने बताउनुभएको छ । मकवानपुरगढीको २५७औं विजयोत्सवको अवसरमा आज मकवानपुरगढीमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले गोर्खालीको अदम्य साहसका कारण आज विश्वमा नेपालीको शिर उच्च रहेकोले यसको ईतिहास कसैले भुल्न नहुने बताउनुभयो ।
तत्कालिन गोर्खाली सेनाको वीरतालाई विश्वसामु परिचित गराउने तत्कालिन गार्खाली सेनाले गरेको उहाँको भनाई थियो । गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक दिन गौरवपूर्ण र ऐतिहासिक दिन भएकोले यसको गरीमा कसैले पनि भुल्न नहुने बताउनुभयो । अंग्रेजलाई पराजित गरेर गोर्खाली सेनाले नेपाललाई सार्वभौम र स्वतन्त्र कायम ठूलो योगदान दिएको मुख्यमन्त्री पौडेलको भनाई थियो ।
२५७ वर्ष अगाडि भएको युद्धमा नेपालीले पराजय व्यहोर्नु परेको हुन्थ्यो भने आज नेपाल स्वतन्त्र देश हुँदैन थियो भन्दै उहाँले आजको दिन नेपाली इतिहासमा महत्वपूर्ण रहेको र गौरब गर्न सकिने दिन भएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले भन्नुभयो– “नेपालको पक्षमा लड्दा लड्दै ज्यान गुमाएका ३० जना तथा युद्धमा देशका लागि लडेर बहादुरी प्रदर्शन गरेका सम्पूर्ण वीर योद्धाहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु,” । मुगल बादशाह मिरकासिमको नेतृत्वमा रहेको अंग्रेज फौजलाई पराजित गरेको सम्झनामा शुक्रबार मकवानपुर जिल्लाको ऐतिहासिक किल्ला मकवानपुरगढी दरबारमा विजयोत्सव मनाइएको हो ।
मकवानपुरगढी गाउँपालिकाको आयोजनामा भएको विजयोत्सव कार्यक्रममा मुख्यमन्त्री पौडेलले नेपालको नेपालको राष्ट्रिय झण्डोत्तोलन तथा सेतो हात्तीको शालिक अनावरण गर्नुभएको थियो । विसं. १८१९ माघ १० गते तत्कालीन अंग्रेज फौजलाई पराजित गरिएको सम्झनामा मकवानपुरगढी किल्लामा केही वर्षदेखि विजयोत्सव मनाउँने गरिएको छ । सरकारले घोषणा गरेको १०० नयाँ पर्यटकीय स्थलमा समावेश भएको मकवानपुरगढी दरबार देशकै सबैभन्दा ठूलो र पुरानो गढी भएको मानिन्छ ।
तीन हजार अंग्रेजको फौजलाई मकवानपुरगढीबाट केही तल शिखरकटेरीबाट अघि बढ्न नदिएर तत्कालीन गोर्खाली फौजले पराजित गरेको थियो । उक्त स्थानमा तत्कालीन मकवानपरे राजा मुकुन्द सेनकी रानीले रानी चौतारा बनाउन लगाएकी थिइन । उक्त चौतरा अझै पनि रहेको छ । उक्त स्थानमा अझै पनि पुराना बन्दुकका नाल, गोलाहरू भेटिने गरेको स्थानीय बताउँछन् ।
चारैतिर अग्लो पर्खालले घेरिएको मकुन्दसेनको दरबार छ । त्यही दरबार पृथ्वीनारायण शाहको ससुराली पनि हो । हाल सो दरबारको भग्नावशेष देख्न सकिन्छ । मकवानपुरगढी किल्ला करिब १३५ रोपनी क्षेत्रमा फैलिएको छ । मकवानपुरगढी दरबार १६१० सालमा सेन वंशीय राजाको शासनकालमा निर्माण भएको बताइन्छ । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमाँगार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा अर्थ समिति सभापति कृष्ण प्रसाद दाहाल, संविधानसभाका सदस्य अनन्त पौडेल, बागमती प्रदेशसभाका सदस्यहरु प्रेमबहादुर पुलामी, मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैनी, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती लगायतकाको आतिथ्यता रहेको थियो ।