हेटौंडा– पाटन उच्च अदालत, हेटौंडा इजलासले अनशनरत गंगामाया अधिकारीका छोरा कृष्णप्रसादको हत्याका अभियुक्तहरूलाई सफाइ दिएको छ। न्यायाधीशहरू चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले १२ जना अभियुक्तलाई सफाइ दिने चितवन जिल्ला अदालतको फैसला सदर गर्ने निर्णय गरेको पाटन उच्च अदालत, हेटौंडा इजलासका उपरजिस्ट्रार कैलाश भट्टराईले जानकारी दिए।
आज (आइतबार) शुरूमा उच्च सरकारी वकीलको कार्यालय हेटौंडाका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठसहित तीन जना सरकारी वकीलले अभियुक्तहरूलाई कृष्णप्रसादको हत्या अभियोगमा कारबाही हुनुपर्ने माग गर्दै बहस गरेका थिए। उनीहरूको बहस सकिएपछि जाहेरीवालाका तर्फबाट अधिवक्ता पुष्पराज पौडेल र महामुनिश्वर आचार्यले बहस गरेका थिए। त्यसपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू मुक्ति प्रधान, रमण श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ, दिनमणि पोखरेल लगायतले बहस गरे।
२४ जेठ २०६१ मा चितवनको बकुलहरमा गंगामायाका कान्छा छोरा कृष्णप्रसादलाई गोली हानेर हत्या गरिएको थियो। सुराकी गरेको आरोप लगाउँदै तत्कालीन माओवादी कार्यकर्ताले १७ वर्षीय कृष्णप्रसादको हत्या गरेका थिए। हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गंगामाया र उनका पति नन्दप्रसादले प्रहरी कार्यालयका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरूमा उजुरी दिए पनि कुनै कारबाही नभएपछि २८ साउन २०७० देखि आमरण अनशन थालेका थिए। ३० चैत २०७० मा छविलाल पौडेलसहित भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, परशुराम पौडेल, कालीप्रसाद अधिकारी, हिमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी, मेघनाथ पौडेल, जानुका पौडेल, सुभद्रा तिवारी, विष्णु तिवारी र रुद्र आचार्यमाथि मुद्दा चलाइएको थियो।
चितवन जिल्ला अदालतले फरार रहेका रुद्र आचार्य (हाल नर्दन आयरल्यान्डमा बस्दै आएका) बाहेक सबै प्रतिवादीलाई २४ भदौ २०७५ मा सफाइ दिएको थियो। त्यसविरुद्ध १८ भदौ २०७६ मा पाटन उच्च अदालतको हेटौंडा इजलासमा पुनरावेदन गरिएको थियो। छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग राखेर गंगामाया अधिकारी १२औं अनशनमा बसिरहेकी छन्। उनी १११ दिनदेखि अनशनमा छिन् । ६ असोज २०७१ मा आमरण अनशनको ३३४ औं दिनमा गंगामायाका पति नन्दप्रसादको निधन भएको थियो ।
#हिमालखबरबाट साभार