मकवानपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता कार्यान्वयन गर्नेतर्फ संघ सरकार उदासीन रहेकाे बताउनुभएकाे छ । सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठकमा सहभागी हुन हेटौंडा आउनु भएका यादवले संघीय सरकारको नियतको कारण संघीयता कार्यान्वयनमा ठूलो समस्या आएको बताउनुभयाे ।
मुख्यमन्त्री यादवले संघ सरकारको कमाउने धन्दा बन्द हुने डरले उहाँहरु संघीयता कार्यन्वयनको लागि सक्रिय नभएको आरोप समेत लगाउनुभयाे । पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री यादवले संविधान बनेको ८ वर्ष बितिसक्दा पनि अधिकार प्रत्यायोजन र कार्यान्वयन गर्न संघ सरकार तयार नहुनु उहाँहरूकाे कमाइ खाने बाटो बन्द हुने डर हो भन्ने आफूहरुको बुझाइ रहेको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘प्रहरी ऐन पास भएर पनि प्रमाणीकरण पनि भयो । तर, कार्यान्वयन कहाँ भयो त ! हामी यो विषयमा प्रधानमन्त्रीलाई पनि भेट्दैछौं ।’
भोलि हुने प्रधानमन्त्रीसँगको छलफलमा मधेश प्रदेशको तर्फबाट सीधा प्रश्न गर्ने उहाँले बताउनुभयाे । संविधान कार्यान्वयनमा मधेश प्रदेशले यसअघि संकल्प प्रस्तावसमेत पास गरेको बताउँदै उहाँले संविधान कार्यान्वयनको लागि धर्ना, जुलुस गर्न आफूहरु तयार रहेको समेत बताउनुभयाे । आफूहरुले संघीयताको पक्षमा धेरै काम गरेको बताउँदै मुख्यमन्त्री यादवले संघ सरकारको नियत ठीक नहुँदासम्म समस्या समाधान नहुने जिकिर गर्नुभयाे ।