मकवानपुर । सातै प्रदेशका मुख्यमन्त्रीहरुले आज एकसाथ मानव सेवा आश्रमको केन्द्रिय कार्यालय हेटौंडाको अवलोकन गर्नुभएको छ । बिहीबारबाट हेटौंडामा सुरु भएको तहगत अधिकारको कार्यविस्तृतिकरण विषयक कार्यक्रममा सहभागि हुन हेटौंडा आउनुभएका ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुले शुक्रबार हेटौँडा–९ लामसुरेधाप स्थित मानवसेवा आश्रमको स्थलगत अवलोकन गर्नुभएको हो ।
स्थलगत अवलोकनका क्रममा मुख्यमन्त्रीहरुले मानवसेवा आश्रमले गरेको कामको प्रशंसा गर्दै प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँहरुले मानव सेवा आश्रम साच्चै नै मानवताको मन्दिर भएको भन्दै आश्रमले चालेको मानवता प्रबद्र्धन अभियानमा सबैको सहयोग र सहकार्य हुनुपर्ने बताउनुभयो ।
मानव सेवा आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार र पारिवारिक पूर्नमिलन गराउँदै आईरहेको छ । २०६९ सालमा मकवानपुरको हेटौंडामा स्थापना भएको मानव सेवा आश्रमका हाल मकवानपुरसहित सातै प्रदेशको १९ जिल्लामा २४ वटा शाखाहरु स्थापना भएर कार्य भईरहेको छ । संस्थाले तीनै तहको सरहकारसंगको सहकार्यमा २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने लक्ष्य लिएको छ । हेटौंडा स्थित आश्रममा हाल २२० जना आश्रृतहरु रहेका छन । जसमध्ये १ सय जना पुरुष , ८० महिला र २५ बालबालिका रहेका छन् । भने देशभरीका आश्रमहरुमा एक हजार ६७९ जना आश्रृतिहरु रहेका छन् ।