मनसुनको न्यून चापीय रेखा नेपाल नजिक अवस्थित रहेकोले आगामी केही दिन देशका धेरै स्थानहरुमा अत्याधिक वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो रेखा अझै नेपाल नजिक सर्ने सम्भावना रहेको पनि जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आकस्मिक बुलेटिन जारी गर्दै नेपालको मौसममा विहारको उत्तर पश्चिम भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको बताएको छ ।
आगामी तीन दिन देशका धेरै स्थानहरूमा झरीको सम्भावना रहेकाे महाशाखाको अनुमान छ । वर्षासँगै देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले पर्सि सोमवारसम्म नै देशका विभिन्न भागमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना रहेकोले बाढी/पहिरो र भेलपहिरोको जोखिम हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।
अहिले सामान्य वर्षा भए पनि दिउँसादेखि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै ठाउँ र बाँकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
Home प्रदेश कर्णाली प्रदेश आगामी तीनदिन झरीको सम्भावना, बाढी पहिरोको जोखिम भएकाले सावधानी अपनाउन आग्रह