मकवानपुर– बागमती प्रदेशसभाको आइतबार बसेको आठौं अधिवेशनको पहिलो बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । आजदेखि शुरु भएको बजेट अधिवेशनको पहिलो बैठक दोलखाका प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधनप्रति शोक प्रस्ताव पारित गरेर स्थगित भएको हो ।
बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख विष्णु प्रसाई प्रसाईले अधिवेशन आह्वन र मन्त्रीमण्डल पुनर्गनठनबारे पठाउनुभएको पत्र पढेर सुनाउनुभएको थियो । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले शुभकामना मन्तव्य दिने, आर्थिक वर्ष २०७७ को महालेखापरीक्षकको वार्षिक प्रतिवेदन, मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन तथा लेखा समितिले २०७८ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची भए पनि त्यसमा प्रवेश नै नगरी स्थगित भएको हो । स्वास्थ्य सुरक्षाको लागि प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारहरूको एन्टिजेन्ट परीक्षण गरेपछि मात्र बैठक शुरु गरिएको थियो । प्रदेशसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।