काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले महिला अधिकारमार्फत समानताको लय समाउने कुरामा नेपाल विश्वमै उदाहरणीय देश भएको बताउनुभएको छ । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो विचार राख्नुभएको हो ।

उहाँले राणा कालको अन्धकार अवस्थाबाट निस्किनासाथ २००८ सालको नगरपालिका निर्वाचनमा नै महिलाले मतदान गर्ने र उम्मेदवार बन्ने अधिकार पाएको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले नेपालले यसरी चुन्ने र चुनिने अधिकार महिलालाई दिँदा कतिपय विकसित मुलुकहरूमा नै महिलाको मताधिकार कुरा मात्रै पनि बहसमै सीमित रहेको समेत उल्लेख गर्नुभयो । उहाँले विश्वको वामपन्थी आन्दोलनले महिला समानतालाई सुव्यवस्थित र सङ्गठित रुपमा उठाएको चर्चा गर्नुहुँदै आइएलओ अभिसन्धी तथा संयुक्त राष्ट्र सङ्घका बडापत्रमा उल्लेखित महिला अधिकारका पक्ष सोही आन्दोलनको देन भएको पनि बताउनुभयो ।
प्रधानमन्त्रीले देशमा राजनीतिक आन्दोलनको विकाससँग सामाजिक न्याय र समानताको आन्दोलनपछि सँगै उठेको बताउनुहुँदै २०४६ सालको जनआन्दोलनले ल्याएको परिवर्तनको आलोकमा पहिले पाँच प्रतिशत, त्यसपछि २० प्रतिशत हुँदै अहिले ४१ प्रतिशतसम्म महिला निर्वाचित भएको पनि बताउनुभयो । प्रधानमन्त्रीले सम्बोधनका क्रममा वर्तमान सरकार महिलामाथि हुने हरेक हिंसाविरुद्ध दृढताकासाथ कार्य गरिरहेको र महिलामाथि हुने कुनै पनि हिंसा क्षम्य नहुने समेत बताउनुहुँदै अन्धविश्वास, अज्ञानता वा अन्य कुनै कारणबाट महिला हिंसा, बलात्कार, कुटपिट, अपमान, गाली बेइज्जती, कुप्रथा र कुचलन विरुद्धको सङ्घर्षलाई जारी राख्नुपर्ने बताउनुभयो । महिला अपमानलाई बहादुरी ठान्ने प्रवृत्ति अनपढमा मात्र होइन पढेलेखेकैहरुमा समेत देखिनु समाजका लागि हानिकारक रहेको उहाँले बताउनुभयो । ‘आफु पढेलेखेको हुँ भन्ने, भात होइन पिज्जा खानेहरूबाट यस्ता काम भइरहेका छन्, प्रधानमन्त्रीले भन्नुभयो । ‘हाम्रा आमा दिदी बहिनीहरूलाई बोक्सीको आरोप लगाउने जस्तो भ्रम र अन्धविश्वास छ, जानीजानी, स्वार्थ, अहङ्कार र पछौटेपन जे भए पनि त्यो अस्वीकार्य मात्र होइन क्षम्यसमेत हुन सक्दैन,’ प्रधानमन्त्रीको भनाइ थियो ।
सरकारले बलात्कार र एसिड आक्रमणका विरुद्ध कडा कानुन निर्माण गरेर महिला हिंसाविरुद्ध कार्य गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो । महिला हिंसाका कतिपय घटनामा महिला नै संलग्न देखिनु दुखद पक्ष रहेको बताउँदै प्रधानमन्त्रीले आफ्ना कारण अर्को महिलामाथि हिंसा नहोस् भन्नेतर्फ ध्यान दिनुपर्ने समेत बताउनुभयो । साथै उहाँले महिलाको अधिकार प्राप्तिको सङ्घर्षलाई पुरुषहरूले समेत सघाउनुपर्ने बिचार समेत राख्नुभयो ।