स्थानीय निर्वाचनका लागि हालसम्म करिब ८० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हाल सम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ सकिएको जानकारी दिनुभयो ।
निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने प्रवक्ता पौडेलले बताउनुभयो । प्रवक्ता पौडेलका अनुसार बाँकी जिल्लाको मतपत्र छाप्ने क्रम जारी छ । निर्वाचन आयोगले ७७ वटै जिल्लाहरूमा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको र वैशाख १३ गतेदेखि मतपत्र ढुवानी शुरु गर्ने तयारी गरिएको समेत जनाएको छ ।
स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन आचारसंहिता विपरीत हुनेगरी कुनै गतिविधि नगर्न विभिन्न राजनीतिक दलहरूलाई आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आग्रह गर्नुभयो । निर्वाचन आचारसंहिता वितरितका गतिविधि गर्नेलाई कानुन बमोजिम कारबाही गरिने भएकाले यस्तो कार्यबाट सजग रहन आयोगले सबैलाई अनुरोध गरेको हो ।
यही १५ गते भित्र सरुवा वा काज वा पदस्थापन भएका कर्मचारीहरू खटिएका तत्तत् निकायमा हाजिर हुन नगएको गुनासो प्राप्त भएकाले स्थानीय तह निर्वाचन मतदान केन्द्र तथा मतगणना कार्यमा खटाउने प्रयोजनका लागि अनिवार्य हाजिर हुन आयोगले कर्मचारीहरूलाई निर्देशन दिएको छ ।
यसैगरी स्थानीय तह सदस्य निर्वाचनका लागि ६८ वटा संस्थाले आयोगबाट पर्यवेक्षणका लागि अनुमति लिइसकेको र ती संस्थाबाट करिब २० हजार भन्दा बढी पर्यवेक्षक खटिने गरी आयोगमा प्रस्ताव प्राप्त भएको समेत प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।