मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीयतालाई बलियो बनाउनका लागि तहगत अधिकार कार्यान्वयन हुनुपर्ने बताउनु भएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
हेटौँडामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेलामा सहभागी हुन आउनुभएका मुख्यमन्त्री कार्कीले संघीयतालाई बलियो बनाउन प्रदेश र स्थानीय तह मिलेर जनतालाई कसरी सेवा दिने भन्नेमा आफुहरु लागिपरेको बताउनुभयो । अहिले प्रदेश तहमा आर्थिक चहलपहल बढेको भन्दै उहाँले अब पनि प्रदेश खारेज गर्नुपर्छ भन्ने गैरजिम्मेवार अभिव्यक्तिाई बन्द गर्नुपर्ने बताउनुभयो ।
उहाँले अधिकार नदिँदा संघीयतामा पनि एकात्मक राज्य प्रणालीकै शैली देखिएको बताउनुभयो । संघियतालाइ कसरी सुदृढ वनाउन सकिन्छ भन्नेमा चिन्तित रहेको बताउँदै उहाँले भन्नुभयो–‘ संवैधानिक अधिकार दिन नखोज्ने संघ सरकार र कानुन निर्माण हुन नसकिरहेको अवस्थामा दवाव दिने उदेश्यका साथ मुख्यमन्त्रीहरू भेला भएका हौं ।” निजामती कानुनसमेत पास गर्न नसकेको उदाहरण दिँदै मुख्यमन्त्री कार्कीले संसद सुचारु नहुँदा पनि अधिकार प्रत्यायोजनमा समस्या भएको बताउनुभयो । उहाँले संविधानमा भएको तहगत अधिकारको सफल कार्यान्वयन भए मात्र संघीयता बलियो हुने बताउनुभयो । भेलामा प्रदेशका संविधानमा भएका एकल र साझा अधिकारका विषयमा गहन छलफल हुनुका साथै केहि ठोस निर्णय समेत हुने उहाँले बताउनुभयो ।