‘जेनजी’ अर्थात् नवयुवा आन्दोलन

सन् २०२५ मा नेपालमा भएको सबैभन्दा चर्चा कमाएको घटना हो, जेनजी आन्दोलन अर्थात् नवयुवा आन्दोलन । गएको सेप्टेम्बर (भदौ) मा नेपालभरि भ्रष्टाचारविरोधी प्रदर्शन र अन्य प्रदर्शनहरू भए । मुख्यतया ‘जेनेरेशन जेड’ अर्थात् नवयुवा विद्यार्थी र युवाहरू आन्दोलनमा उत्रिए ।

सरकारले ४ सेप्टेम्बर (भदाै १९) मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नयाँ नियम अन्तर्गत दर्ता गर्न नआएको भन्दै फेसबुक, एक्स, युट्युब, लिङ्क्डइन, रेडिट, सिग्नल र स्न्यापच्याट लगायत २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्‍यो ।

सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध लगाएपछि नवयुवाहरूले काठमाणडौसहित देशभर आन्दोलन शुरू गरे । शासन, पारदर्शिता र राजनीतिक जवाफदेहिताका फराकिलो मुद्दाहरूलाई समेट्न आन्दोलन विस्तार भयो । ८ सेप्टेम्बर (भदौ २३) मा भएको आन्दोलन भोलिपल्ट हिसांतर्फ उन्मुख भयो । नवयुवाको आन्दोलन हिंसात्मक हुँदै गएपछि ९ सेप्टेम्बर (भदाै २४) मा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्‍यो ।

१२ सेप्टेम्बर (भदाै २७) मा सुशीला कार्की नेपालको अन्तरिम प्रधानमन्त्री नियुक्त हुनुभयो । १३ सेप्टेम्बर (भदाै २८) सम्ममा विरोध प्रदर्शन शान्त भयो । आन्दोलनका क्रममा कम्तीमा ७६ जनाले ज्यान गुमाए, कम्तीमा ३४ जना प्रदर्शनकारीको गोली लागेर ज्यान गयो । यो घटनाले नेपालमा मात्रै नभएर विश्वभर चर्चा भयो ।

अफ्रिकाको ट्युनिसियाबाट शुरू भएको आन्दोलन नेपालसहित विभिन्न देशहरूमा फैलिएको हो । १७ डिसेम्बर २०१० मा सडकमा सागसब्जी बेच्ने (स्ट्रिट भेन्डर) मोहमेद वौवाजिजी नामक युवाले प्रहरी प्रशासनले गर्ने भ्रष्टाचार, शैक्षिक बेरोजगारी तथा जीविकोपार्जनमा देखिएको आर्थिक कठिनाइका कारण खुला सडकमा आफैँलाई पेट्रोल छर्किएर आत्मदाह गरे । त्यो बलिदानी आगोको राप बिस्तारै ट्युनिसियाभरि फैलियो र पछि सिङ्गो अरब–विश्वमा विस्तारित हुन पुग्यो ।

ठूलाठूला तानाशाही शासकहरू जस्तै– इजिप्टका होस्नी मुवारक, लिबियाका कर्णेल मोहम्मर गद्दाफीहरू सत्ताच्युत भए । वास्तवमा ती घटना ‘जेनजी’ को विद्रोहको चरित्रसँग धेरै देखिन्छ । यद्यपि त्यस बेलाका ती क्रान्तिकारीलाई ‘जेनजी’ भनिन्थेन । अरब स्प्रिङमा धेरैजसाे युवाहरू नै आन्दोलनमा संलग्न थिए । जसमा विद्यार्थी त हुने नै भए, पेसागत युवाहरू पनि सामेल हुन पुगे जो राजनीतिक पार्टीहरूमा सामेल थिएनन् । वास्तवमा यो आन्दोलन बेरोजगारी र भ्रष्टाचार वृद्धि तथा स्वतन्त्रतामाथि बलजफ्ती बन्देजकै जगमा खडा हुन पुगेको थियो ।

छिमेकी देश श्रीलङ्का र बङ्गलादेशमा पनि यस्तै आन्दोनल भएर सत्ता परिवर्तन भयो । चुनावमार्फत बङ्गलादेशमा चौथो कार्यकालका लागि दुईतिहाइको सरकार बनाउन सफल भए पनि शेख हसिना नेतृत्वको अवामी लिगको सत्ता ढल्यो । यस्तै दुई वर्षअघि अर्को छिमेकी देश श्रीलङ्कामा पनि शुरूमा विद्यार्थीहरूले नै विद्रोह शुरू गरेका थिए । त्यसपछि आमनागरिक सडकमा ओर्लिए  जसलाई सङ्घर्ष (सिंहालीमा अरागलय) भनियो । त्यसबाट सन् २०२२ मा राजापाक्षे दाजुभाइको खान्दानी शासनको अन्त्य हुन पुग्यो ।

त्यसैगरी गएको फेब्रुअरीमा पाकिस्तानी युवाहरूले जेलमा रहेका इमरान खान समर्थित व्यक्ति उम्मेदवारहरूलाई व्यापक रूपमा निर्वाचित गराउन पुगे । त्यो घटना आफैँमा एक विद्रोह थियो ।

विदेशमा भएका चर्चित घटना :

विश्व सन् २०२६ को पूर्वसन्ध्यामा छ । यो विश्व इतिहासमा निर्णायक वर्षका रूपमा स्मरणीय रहने छ । यो वर्षले विश्व राजनीतिमा शक्ति सन्तुलनको पुनर्संरचना, युद्ध र शान्तिको द्वन्द्व, आर्थिक अनिश्चितता, जलवायु सङ्कट, प्रविधिगत परिवर्तन र सामाजिक रूपान्तरणलाई एकैसाथ उजागर गरेको छ ।

ट्रम्पको दोस्रो कार्यकाल शुरू भएसँगै बढेको हलचल

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा आफ्नो दोस्रो कार्यकाल शुरू गर्दै इतिहासमा लगातार दुई कार्यकाल जित्ने दोस्रो अमेरिकी राष्ट्रपति बन्नुभयाे । जेडी भान्स उपराष्ट्रपतिका रूपमा नियुक्त भएपछि दोस्रो ट्रम्प प्रशासनले सरकारको आकारमा आप्रवासन, व्यापार र अन्य धेरैमा व्यापक नीतिगत परिवर्तनहरू शुरू गर्‍यो ।

ट्रम्पले कार्यकारी आदेशमार्फत सरकारी दक्षता विभाग सिर्जना गर्नुभयो । यसका वास्तविक नेता प्राविधिक अर्बपति एलोन मस्कले यसलाई ‘नोकरशाहीको लागि चेनसा’ भन्नुभयो । सरकारी दक्षता विभागले २ लाख ६० हजार सङ्घीय कर्मचारीलाई बर्खास्त गर्‍यो । ‘हाई–प्रोफाइल’ कटौतीहरूमा अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएआईडी) को विघटन, शिक्षा विभाग र राष्ट्रिय स्वास्थ्य संस्थानहरू रहेका छन् । यसले नेपालसहित धेरै विकासाेन्मुख देशमा प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पारेको छ ।

ट्रम्प प्रशासनले अवैध आप्रवासनमाथिको कारबाहीलाई तीव्र बनायो । काम, घर र विद्यालयमा व्यक्तिहरूलाई पक्राउ गर्न एजेन्टहरू पठायो । बन्दीहरूलाई राख्नका लागि प्रशासनले फ्लोरिडाको ‘एलिगेटर अल्काट्राज’ जस्ता बन्दी केन्द्रहरू सिर्जना गर्‍यो । एजेन्टले तेस्रो देश निर्वासनमार्फत आप्रवासीहरूलाई उनीहरूको आफ्नै देशबाहेक अन्य देशहरूमा पठाउने योजना पनि घोषणा गर्‍यो । एजेन्टहरूले मानिसहरूलाई चिह्न नभएका कारहरूमा जबरजस्ती राखेको सेलफोन भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भए ।

अप्रिलमा ट्रम्प प्रशासनले आयातमा १० प्रतिशतको पूर्ण कर लागू गर्‍यो जसमा सबैभन्दा खराब अपराधी ठानेका देशहरूका लागि उच्च शुल्क लगाइयो । सबैभन्दा धेरै प्रभावित चीन भयो जसले १ सय ४ प्रतिशत करको सामना गर्‍यो । चीनले दुर्लभ–पृथ्वी खनिजहरूमा कडा निर्यात नियन्त्रणको साथ प्रतिक्रिया दियो ।

भारत र चीनको उदय

भारत र चीनजस्ता एशियाली महाशक्तिदेखि अमेरिका, युरोप, मध्यपूर्व र अफ्रिकासम्मका घटनाले विश्वलाई कुनै न कुनै रूपमा प्रभावित पारे । यी परिवर्तनको केन्द्रविन्दु विशेषरूपमा भारत र चीनको उदय, प्रतिस्पर्धा र रणनीतिक चाल नै देखियो । सन् २०२५ ले २१औं शताब्दीको विश्व राजनीति अब केवल पश्चिमा शक्तिको प्रभावमा सीमित नरहेको स्पष्ट गर्‍यो । भारत र चीन दुवैले आफ्नो आर्थिक क्षमता, जनसाङ्ख्यिकीय शक्ति, प्रविधि र कूटनीतिक पहुँचमार्फत विश्व व्यवस्थामा निर्णायक भूमिका निर्वाह गर्न थालेका छन् ।

यही कारणले २०२५ लाई भारत–चीन केन्द्रित विश्व रूपान्तरणको वर्षका रूपमा पनि बुझ्न सकिन्छ । भारतका लागि २०२५ आत्मविश्वास र आकाङ्क्षाको वर्ष रह्यो । सन् २०२४ को चुनावपछि स्थिर सरकार बनेसँगै भारतले आर्थिक विस्तार, पूर्वाधार विकास र रक्षा आत्मनिर्भरतालाई तीव्र गतिमा अघि बढायो । उत्पादनमा आधारित अर्थतन्त्र, सेमिकन्डक्टर उद्योग, हरित ऊर्जा र डिजिटल प्रविधिमा भएको लगानीले भारतलाई दीर्घकालीन विश्व शक्ति बन्ने दिशामा उन्मुख गरायो ।

अन्तरिक्ष, रक्षा र प्रविधिमा भारतको बढ्दो उपस्थिति केवल आर्थिक उपलब्धि मात्र नभइ रणनीतिक सन्देश पनि प्रवाह गर्न नयाँदिल्ली सफल रह्यो । विदेश नीतिमा भारतले आफूलाई विश्वव्यापी दक्षिणको प्रतिनिधि र सेतुका रूपमा प्रस्तुत गर्ने प्रयास गर्‍यो भने अमेरिका, जापान, अस्ट्रेलिया र युरोपसँगको सहकार्य सघन भयो । एशिया–प्रशान्त क्षेत्रमा शान्ति, सुव्यवस्था र स्थायित्व कायम गर्ने रक्षासम्बन्धी भारत, अमेरिका, जापान र अस्ट्रेलियाबीचको रणनीतिक साझेदारी क्वाडमार्फत यो क्षेत्रमा चीनको प्रभाव सन्तुलन गर्ने रणनीति अघि सारियो ।

यद्यपि भारतले चीनसँगको प्रतिस्पर्धालाई पूर्ण टकरावमा रूपान्तरण हुन नदिने सावधानी पनि अपनायो । वास्तविक नियन्त्रण रेखामा सैन्य सतर्कता उच्च रह्यो तर संवादका ढोका बन्द भएनन् जसले एशियाको राजनीतिक स्थायित्व र शान्ति सुव्यवस्था कायम गर्ने दिशामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो । दुई देशबीचको द्वन्द्व मत्थर भयो । चीनका लागि सन् २०२५ आत्ममूल्याङ्कन र पुनर्संरचनाको वर्ष बन्यो । दशकौंको तीव्र आर्थिक वृद्धिपछि चीन सुस्त अर्थतन्त्र, रियल इस्टेट सङ्कट र युवामाझ बढ्दो बेरोजगारीजस्ता चुनौतीको सामना गरिरहेको थियो ।

यस्ता अवस्थाबीच चीनले घरेलु बजार सुदृढीकरण, प्रविधिमा आत्मनिर्भरता र राज्य–केन्द्रित विकास मोडेललाई थप बलियो बनायो । कृत्रिम बुद्धिमता (एआई), उच्च प्रविधिका सामग्री उत्पादन र सैन्य आधुनिकीकरणमा चीनको लगानी निरन्तर रह्यो जसले बेइजिङलाई विश्वका अग्रणी देशको सूचीमा स्थापित गरायो ।

राजनीतिकरूपमा चिनियाँ कम्युनिस्ट पार्टी अझ कडा

राजनीतिकरूपमा चिनियाँ कम्युनिस्ट पार्टीको नियन्त्रण अझ कडा देखियो । स्थायित्व र राष्ट्रिय एकताका नाममा निगरानी बढाइयो जसले सामाजिक असन्तोषलाई दबाउने काम गर्‍यो । ताइवान प्रश्न चीनको सबैभन्दा संवेदनशील रणनीतिक मुद्दा रह्यो । ताइवान वरिपरि सैन्य अभ्यास र कूटनीतिक दबावले अमेरिका र उसका सहयोगीसँग सम्बन्धलाई तनावपूर्ण बनायो जसले सम्पूर्ण एशियाली क्षेत्रको सुरक्षा समीकरणमा असर पार्‍यो । जापान र चीनबीच ताइवानलाई लिएर निकै तनाव भयो ।

भारत र चीनबीचको सम्बन्ध २०२५ मा प्रतिस्पर्धा र सावधानीपूर्ण संयमको मिश्रणका रूपमा रह्यो । आर्थिकरूपमा दुवै देश एकअर्कामा निर्भर भए पनि रणनीतिक अविश्वास कायमै रह्यो । दक्षिण एशिया, हिन्द–प्रशान्त क्षेत्र र विकासशील देशमा प्रभाव विस्तार गर्ने होड तीव्र बन्यो । यही प्रतिस्पर्धाले नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफ्रिकी देशलाई कूटनीतिक सन्तुलन अपनाउन बाध्य बनायो ।

२०२५ मा दुवैले जलवायु सङ्कटका प्रत्यक्ष असर भोग्नुपर्‍यो । अनियमित मौसम, बाढी, खडेरी र चरम तापक्रमले करोडौं नागरिकको जीवन प्रभावित भयो । यसले विकास र वातावरणबीचको द्वन्द्वलाई चर्काउनुका साथै आपसी साझेदारी अपरिहार्य भएको अझ स्पष्ट बनायो । विश्वका सबैभन्दा धेरै जनसङ्ख्या भएका भारत र चीनले जलवायु सङ्कट समाधानमा निर्वाह गर्ने सम्भावित भूमिकाले भविष्य निर्धारण गर्ने सङ्केत पनि गरायो ।

प्रविधिको क्षेत्रमा प्रतिस्पर्धा झनै तीव्र

प्रविधिको क्षेत्रमा प्रतिस्पर्धा झनै तीव्र भयो । एआई, डिजिटल निगरानी, डेटा नियन्त्रण र साइबर सुरक्षामा दुवैले आ–आफ्नो मोडेल अघि सारे । भारतले लोकतान्त्रिक प्रणालीभित्र प्रविधि विस्तार गर्ने प्रयासलाई निरन्तरता दियो भने चीनले राज्य–केन्द्रित प्रविधि शासनलाई बलियो बनायो । यी फरक मोडेलको प्रतिस्पर्धाले विश्व प्रविधि राजनीतिलाई नयाँ दिशा देखायो ।

२०२५ विश्व इतिहासमा केवल घटनाको सङ्कलन मात्र रहेन, यो विश्व व्यवस्थाको गहिरो पुनर्संरचनाको वर्ष बन्यो । राजनीति, अर्थतन्त्र, प्रविधि, युद्ध, जलवायु र संस्कृतिका तहमा भइरहेको परिवर्तनले मानव सभ्यतालाई गम्भीर आत्ममन्थनतर्फ धकेले । एकातिर अभूतपूर्व प्रगति र नवप्रवर्तनको दिशा देखियो भने अर्कोतिर अस्थिरता, द्वन्द्व र अनिश्चितताले भविष्य झन् जटिल बनायो ।

२०२४ को अमेरिकी चुनावपछि डोनाल्ड ट्रम्पको राष्ट्रपतिको रूपमा पुनरागमनले २०२५ को प्रारम्भमै विश्व राजनीतिलाई झस्काइदियो । उहाँका नीतिले अमेरिकी विदेश नीति एकपक्षीयता, कडा राष्ट्रवाद र लेनदेनमुखी शैलीतर्फ फर्केको सङ्केत दियो । आक्रामक भन्सार तथा व्यापार नीतिले विश्व अर्थतन्त्रमा गहिरो प्रभाव पार्‍याे । अमेरिका–चीन व्यापार तनाव पुनः चर्किँदा युरोप, मेक्सिको र एशियाली अर्थतन्त्र पनि असरबाट अछुतो रहेनन् ।

मध्यपूर्वको युद्धविराम

मध्यपूर्वमा इजरायल–हमास युद्धविरामले केही समयका लागि राहत दियो । युरोपमा युक्रेन युद्धको छायाँ २०२५ भरि फैलिरह्यो जसले विश्व शक्ति राजनीति, ऊर्जा सुरक्षा र सैन्य गठबन्धनको भविष्य प्रभावित गर्‍याे । विश्व शासनका बहुपक्षीय मञ्चमा पनि २०२५ परिवर्तनको वर्ष बन्यो । दक्षिण अफ्रिकाकाे जोहानेसबर्गमा सम्पन्न जी–२० शिखर सम्मेलनले पहिलो पटक अफ्रिकाको महत्त्व पुष्टि गर्‍यो । चीन र अमेरिकी राष्ट्रपतिबीच कोरियामा भएको भेटवार्तापछि चिसिएको अमेरिका–चीन सम्बन्ध पुनः हार्दिकतातर्फ फर्कियो ।

सांस्कृतिकरूपमा पनि महत्त्वपूर्ण वर्ष

सांस्कृतिकरूपमा पनि २०२५ महत्त्वपूर्ण रह्यो । पोप फ्रान्सिसको निधनले विश्वभर शोक र चिन्तनको लहर फैलायो भने कला, सङ्गीत, खेलकुद, सिनेमा र साहित्यका प्रतिष्ठित व्यक्तित्वहरूको निधनले युगको अन्त्य र सांस्कृतिक निरन्तरतालाई उजागर गर्‍यो । अभिनेता धर्मेन्द्रको निधनमा बलिउड शाेकमा डुब्याे । बदलिँदो शक्ति सन्तुलन, प्रविधि मानव नियन्त्रणभन्दा द्रुत गतिमा अघि बढिरहेको र कूटनीति परीक्षणमा रहेको २०२५ मा पनि देखियो । २०२५ लाई आफ्ना सीमा, कमजोरी र सम्भावनालाई एकसाथ सामना गरेको वर्षका रूपमा सम्झिन सकिन्छ ।

नेपाल प्रिमियर लिग

तीन महिनाअघि भएको नवयुवाको आन्दोलन र त्यसले सिर्जना गरेको पीडा, तनाव र निराशाबीच शुरू भएको देशलाई नेपाल प्रिमियर लिग (एनपीएल) ले एउटै भावनामा बाँध्यो । देश अस्तव्यस्त भएको समयमा एनपीएलले त्यो अव्यवस्थालाई केही समयका लागि ओझेलमा पारिदियो ।

सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्म फैलिएको एनपीएलको उत्साहले धेरैलाई दुःख र पीडाबाट केही क्षण टाढा राख्न सफल भयो । पर्यटन क्षेत्रमा असर परेका बेला ‘नेपाल असुरक्षित छ’ भन्ने धारणा चिर्दै एनपीएलले नेपाल सुरक्षित, शान्त र सक्षम देश हो भन्ने सन्देश विश्वसामु पुर्‍यायो । नकारात्मक परिस्थितिको बीचमा पनि एनपीएलले सकारात्मक ऊर्जा फैलायो । एनपीएलले देशलाई क्रिकेटको केन्द्रमा बाँध्यो । यो केवल खेल प्रतियोगिता मात्र रहेन, राष्ट्रिय एकताको प्रतीक बन्यो ।

विदेशी टेलिभिजन च्यानलमार्फत प्रत्यक्ष प्रसारण हुनु पनि एनपीएलको अर्को महत्त्वपूर्ण सफलता हो । यसले नेपाली क्रिकेटलाई विश्वसामु चिनाएको छ । यही कारणले एनपीएलले पहिलो संस्करणमै  उल्लेखनीय सफलता हासिल गरेको मानिन्छ । अब आउने संस्करणले अझ ठूलो सफलता पाउने अपेक्षा धेरैले गरेका छन् । पहिले व्यवस्थित रङ्गशाला नहुँदा दर्शक भुइँमै बसेर खेल हेर्न बाध्य हुन्थे । कतिपय त रुखमा चढेर आफ्नो ज्यान जोखिममा राखेर क्रिकेट हेर्थे । अहिले त्यो दृश्य फेरिएको छ । रङ्गशालाको स्वरूप बदलिएको छ । व्यवस्थित प्यारापिट, कुर्सीमा बसेर खेल हेर्ने सुविधा र पहिलो पटक फ्लडलाइटमा खेल हेर्ने अवसरले दर्शकको अनुभव नै बदलिदिएको छ ।

नेपालमा क्रिकेट खेल्न आएका प्रख्यात खेलाडी र क्रिकेट कमेन्टेटरले यहाँको प्रशंसा गर्दै आफ्ना सामाजिक सञ्जालमा शेयर गर्दा पनि नेपालबारे विश्व समुदायले थाहा पाएका छन् । एनपीएल र नेपाली क्रिकेटलाई खेलाडी र कमेन्टेटरले मात्रै नभइ विश्व प्रसिद्ध सञ्चारमाध्यमले पनि उत्तिकै महत्त्व दिएको पाइयो । एनपीएल मात्र नभएर आउँदो वर्षको फेब्रुअरीमा भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप क्रिकेटमा पनि नेपाल सहभागी हुँदैछ । यसले पनि नेपाललाई विश्वमा चिनाउन ठूलो सहयोग पुर्‍याउने छ ।

विपीन जोशीको पुष्टि

७ अक्टाेबर २०२३ प्यालिस्टिनी लडाकु समूह हमासको आक्रमणमा परि विपिनसँगै सुदूरपश्चिमका आठ जना विद्यार्थीले ज्यान गुमाए । कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा उनीहरू दुई वर्षअघि इजरायल पुगेका थिए । अरूको शव त्यही बेला नेपाल आइपुग्यो भने विपीन जोशीलाई हमासले नियन्त्रणमा लियो ।

हमासले विपीनलाई गाजापट्टीसँग सीमा जोडिएको इजरायलको दक्षिणी क्षेत्र अलुमिम किवुजबाट बन्धक बनाएर लगेको थियो । एक महिनापछि इजरायली सेनाले विपीन जीवित रहेकाे भिडियो फेला पारेको थियो । तर गएको कात्तिक ३ गते सोमवार हमासको नियन्त्रणमा रहँदा ज्यान गुमाएका विपीनको शव नेपाल आयो ।

यो घटनालाई विश्वका धेरैजसो सञ्चारमाध्यमले प्रकाशन/प्रशारण गरे । विपीन जोशीको पहिचान नहुँदै धेरै सञ्चारमाध्यमले उनको सकुशल रिहाइ होस् भन्दै कामना पनि गरे । विपीनकी बहिनी र आमा नै उनको रिहाइका लागि इजरायल र अमेरिकासम्म पुग्दा झनै विदेशका मिडियाको प्राथमिकतामा पर्‍यो ।

ujyaaloonline