प्रतिकारात्मक तस्विर

हेटाैंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको ३ नम्बर पुलनजिकै यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको रात्रि बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक अमलेखगन्जस्थित तीन नम्बर पुल नजिक एकापसमा ठोक्किएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले दुर्घटनामा परी ट्रक चालक तनहुँ पिपलटार निवासी २८ वर्षीय पूर्ण गुरुङ, बसका चालक मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–३ निवासी ४० वर्षीय हरिशमशेर सुयाल थापा र अर्का एक पुरुषको मृत्यु भएको जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको हेटौँडामा उपचारका क्रममा मृत्यु भएको हो ।
घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको हेटौँडा र चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य २० जना घाइतेको अवस्था सामान्य रहेको र उनीहरूको कार्की मेडिकल अमलेखगन्ज बारामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।