अध्यादेश जारी गर्ने निर्णयपछि पूर्वमाओवादी मन्त्रीहरु पुगे खुमलटार

काठमाडौँ — सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले बताए । 

यसअघि पार्टी विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत आवश्यक पर्ने व्यवस्था थियो।पार्टीका दुई अध्यक्षबीच चिसो बढिरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्‍मा यस्ताे प्रस्ताव लगेका हुन् । उनको प्रस्तावमा केही मन्त्रीहरुले लकडाउनको अहिलेको परिस्थितिमा यस्तो निर्णय गर्नु पर्‍यो भनेर प्रश्न समेत उठाएको ती मन्त्रीले सुनाए । प्रधानमन्त्री ओलीले यसको अहिले आवश्यकता रहेको बताएपछि निर्णय भएर आजै राष्ट्रपति कार्यालयमा पुगिसकेको पनि उनले बताए । अध्यादेशले राजनीतिक दलसम्बन्धि ऐनको प्रावधानलाई संशोधन गर्नेछ ।

त्यस्तै मन्त्रिपरिषद्ले पार्टी विभाजनको लागि संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत मत भए पुग्ने अध्यादेश जारी गर्ने निर्णय गरेपछि पूर्वमाओवादी मन्त्रीहरु पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार पुगेका छन् । ऊर्जामन्त्री वर्षमान पुनको कार्यकक्षमा बैठक बसेर छलफलपछि उनीहरु खुमलटार पुगेका हुन्। मन्त्री पुनको सचिवालय स्रोतका अनुसार बैठकमा लेखराज भट्ट, विना मगर, शक्ति बस्नेतलगायत उपस्थित थिए।

इकान्तिपुरबाट साभार