मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशका १० वटा स्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । बागमती प्रदेशको पुस ३ गते मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशका १० वटा अस्पतालमा वेड संख्या थप गर्दै स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशका १० वटा अस्पतालहरुलाई ५० देखि ३०० बेडसम्म स्तरोन्नति गर्ने निर्णय गरेको हो । यस्तै उक्त अस्पतालहरुका लागि एक हजार ६६९ जना कर्मचारीको संगठन संरचना (दरबन्दी) स्वीकृत गर्ने निर्णय समेत गरेको छ । प्रदेश सरकारले प्रदेश स्वास्थ्य मन्त्रालयको (प्राविधिकसहित) एक हजार ६६९ जना कर्मचारीहरुको संगठन संरचना (दरबन्दी) स्वीकृत गरेको मुख्यमन्त्री जम्मकट्टेलले बताउनुभयो ।
प्रदेश सरकारले मकवानपुरको हेटौंडा अस्पताल र भक्तपुर अस्पताल भक्तपुरलाई ३०० बेडमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । यसैगरी धादिङ अस्पताल धादिङबेसी, त्रिशूली अस्पताल नुवाकोट, सिन्धुली अस्पताल सिन्धुली र बकुलहर अस्पताल चितवन १०० बेडमा स्तरोन्नती गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । यस्तै सिन्धुपाल्चोक अस्पताल, रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं अस्पताल र काभ्रेको मेथिनकोट अस्पताल ५०÷५० बेडमा स्तरोन्नती गर्ने निर्णय भएको छ ।
कर्मचारीहरूको संगठन संरचना स्विकृत गर्दै हाल सञ्चालनमा रहेका १० वटा प्रदेश अस्पतालहरूको स्तरोन्ती गर्ने निर्णय गरेको हो । यस्तै बैठकले मकवानपुर बहुमुखी क्याम्पस हेटौंडालाई बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णयसमेत गरेको मुख्यमन्त्री जमकट्टेलले जानकारी दिनुभयो ।