मकवानपुर– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) को प्रचारप्रसारका लागि शुरु भएको ओलम्पिक टर्चको र्याली हेटौंडा आइपुगेको छ । सात वटै प्रदेशमा पुगेर प्रतियोगिताको प्रचारप्रसार गर्ने क्रममा र्याली शनिबार बेलुका हेटौंडा आइपुगेको हो ।

प्रदेश एकबाट ओलम्पिक टर्च बोकेर प्रचारमा हिँडेको ओलम्पियन एथलेटिक्स खेलाडीहरु मुकुण्डहरि श्रेष्ठ (१९८० मस्को), जीतबहादुर केसी(१९७२ म्युबिख), राजकुमारी पाण्डे(१९८८ एटलान्टा), कान्छीमाया कोजु(२००४ एथेन्स), ज्ञानबहादुर बोहरा(२००० सिड्नी) र सुटिङका टिकाराम श्रेष्ठ(२००४ एथेन्स) हेटौंडा आइपुगेका थिए ।

आइतबार बिहान खेलकुद विकास समितिमा भएको कार्यक्रममा टर्च र्यालीलाई स्वागत गरिएको छ। र्यालीलाई हेटौंडा उपमहानगरपालिकाको उपमेयर मिना लामा, प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिनाले स्वागत गर्दै चितवनका लागि बिदाइ समेत गरेका छन् । मंसिर ७ गते प्रदेश १ को राजधानी विराटनगरबाट ओलम्पिक टर्च बोकेर शुरु भएको प्रचार र्याली जनकपुर हुँदै हेटौंडा आइपुगेको थियो । टोलि आइतबार चितवन हुँदै वुटवल पुगेर लुम्बिनीमा बास बस्नेछ ।

यसैगरी कर्णाली र सुदुरश्चिम पुगेर मंसिर १५ गते दशरथ रंगशालामा रहेको ओलम्पिकको मुख्य दियो प्रज्वलन गरी प्रतियोगिता उद्घाटन हुनेछ ।  मंसिर १५ गतेदेखि २४ गतेसम्म काठमाडौं, जनकपुर र पोखरामा सागका विभिन्न प्रतियोगिता हुनेछन् ।