हेटौँडा । हेटौँडा–८ कमानेमा दुई दिने सडक महोत्सव आयोजना हुने भएको छ । ८ नम्बर वडाको आयोजनामा आउँदो शुक्रबार र शनिबार व्यापार प्रवद्र्धन एंव प्रदर्शनीसहितको सडक महोत्सव आयोजना गर्न लागिएको हो ।
आईतबार पत्रकार सम्मेलन गरेर व्यापार प्रवद्र्धन एंव प्रदर्शनी (सडक महोत्सव) बारे जानकारी गराइएको छ । वडा नम्बर ८ को चालु वार्षिक कार्यक्रम अन्तरगत स्थानीय व्यापार, स्थानीय प्रवद्र्धन, स्थानीय प्रदर्शनी लाई मुख्य नाराका साथ वडा भित्र रहेका स्थानीय व्यापार व्यवसाय, कला, साँस्कृतिक पहिचान र प्रदर्शनी गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिन लागिएको वडाध्यक्ष रामकृष्ण थापाले बताउनुभयो ।
कमानेको मेनरोड नीमचोकदेखी सागरचोक करिब १५० मिटर क्षेत्रको सडकमै महोत्सव आयोजना हुने महोत्सवका संयोजक विष्णु प्रसाद अर्यालले जानकारी दिनुभयो । करीब ७० वटा स्टल रहने महोत्सवमा संस्थागत रुपमा आउने र वडाभित्रकोलाई २ हजार शुल्क तथा वडा बाहिरकालाई तीन हजार शुल्क लाग्ने उहाँले बताउनुभयो । हेटौंडा उपमहानगरका १९ वडा बाहेकको अन्य स्थानको स्टल नरहने समेत उहाँले बताउनुभयो । करिब ७ लाख भन्दाबढी खर्च हुने अनुमान गरिएको महोत्सवमा वडाबाट तीनलाख बजेट विनियोजन भएको छ । महोत्सवमा बाल तथा आमा समूहका स्टलहरु, स्थानीय उत्पादित वस्तुहरुको स्टल तथा खानाका स्टल समेत रहने आयोजकले जनाएको छ ।