मकवानपुर । नेकपा एमालेका सचेतक महेश कुमार बर्तौलाले सरकार राजनीतिक रूपमा पदीय भागबण्डामा रमाएको बताउनु भएकाे छ । मदन भण्डारी फाउन्डेसन मकवानपुरद्वारा शनिबार हेटौँडामा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सचेतक बर्तौलाले देश विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा सरकार स्वार्थ अनुकूल भागबण्डामा केन्द्रित भएको बताउनु भएकाे हाे ।

जनताका समस्यालाई बेवास्ता गरेर सरकार राजनैतिक भागबण्डामा रमाएको आरोप लगाउनु हुँदै उहाँले सरकारले जनताका आधारभूत आवश्यकतालाई नजरअन्दाज गरिरहेको बताउनुभयाे । ‘वर्तमान अवस्थामा नागरिकहरू आर्थिक सङ्कटको मारमा छन् तर सरकार भागबण्डा गरेर पदको बाँडफाँडमा केन्द्रित छ ।’ उहाँले भन्नुभयाे, ‘अहिले देश अवस्था राम्रो छैन । जनताहरू समस्यामा छन् । तर, सरकार भने जनताका समस्यालाई बेवास्ता गरेर पदीय भागबण्डामा सक्रिय भएको छ । सरकारले नागरिकहरूलाई लक्षित गरी कुनै पनि राम्रा काम गर्न सकेको छैन ।’ मकवानपुर क्षेत्र नम्बर–२ का सांसद समेत रहनु भएका सचेतक बर्तौलाले देशको परिस्थिति प्रतिकुल भएको अवस्थामा सद्भावको भावना बाँडेर एकता कायम राख्न जरुरी रहेको बताउनुभयाे । अनेक प्रतिकुलता बिचबाट अनुकूलता खोज्नु पर्नेमा अवस्था रहेको उहाँकाे भनाइ थियाे ।

फाउण्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता तथा फाउन्डेसनका केन्द्रीय नेता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे । फाउण्डेसनले नेपालीहरुको विशेष पर्वहरु बडादशै, तिहार, नेपाल सम्वत तथा छठ लगायत संपूर्ण पर्वहरुको उपलक्ष्यमा शुभकामना अदान–प्रदान तथा चियापान कार्यक्रम गरेकाे हाे । कार्यक्रममा जनप्रतिनिधहरू, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।











