नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । पत्रकार सम्मेलन गरी उहाँले पदबाट राजीनामा दिएको जानकारी गराउनुभयो ।
पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा विकसित राजनीतिक घटनाक्रमबाट नैतिक रुपमा संसदीय दलको नेताका रुपमा बसिरहन उपयुक्त नभएको महसुस गरी राजीनामा दिएको उहाँले बताउनुभयो ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई शुभकामना दिनुहुँदै थापाले आगामी दिनमा उहाँलाई कांग्रेसको निरन्तर साथ रहने बताउनुभयो । उहाँले आगामी दिनमा कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेता सहमतिमा नयन नभए निर्वाचनबाट चयन हुने बताउनुभयो ।
आज बसेको कोशी प्रदेश संसदीय दलको बैठकपछि थापाले राजीनामा दिनुभएको हो । आज बसेको बैठकमा नेपाली काँग्रेसका २९ जना प्रदेश सभा सदस्यमध्ये १९ जनाको सहभागिता थियो ।









