हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ । वागमती प्रदेशसभामा १०९ जना सदस्य छन् । विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ । १०४ जनाले सोमबार प्रदेशसभामा मतदान गरेका थिए ।
पाण्डेलाई नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १ जना सांसदले विश्वासको मत दिएका छन् । मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ४७ मत परेको छ । त्यस्तै २ मत तटस्थ देखिएको छ । मुख्यमन्त्री पाण्डेको विपक्षमा एमालेका ४० र विवेकशील साझा पार्टीका ३ सांसदले मतदान गरेका थिए । मतविभाजन प्रक्रियामा दुई सांसद रहेको राप्रपा उपस्थित भएनन् भने नेपाल मजदुर किसान पार्टी नेमकिपा तटस्थ बसेको थियो । नेमकिपासँग दुई सांसद छन् । प्रदेशसभामा एमालेको सभामुखसहित ४३ मत रहेपनि दुई सांसद अनुपस्थित भए । सभामुख सानुकुमार श्रेष्ठ मतविभाजन प्रक्रियामा भाग लिएनन् । प्रदेशसभाको बैठकमा १०४ सांसदको उपस्थिति रहेको थियो ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम कुनै पनि दलको बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका मितिले एक महिनामा सदनबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार पाण्डेले सोमबार विश्वासको मत लिएका हुन् ।