हेटौंडा । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले शनिबार नेपाल पत्रकार महासंघ बागमती प्रदेशको कार्यालयमा तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरण प्रक्रियाअन्तर्गत प्रदेश समितिबाट प्राप्त सिफारिस भनी प्रकाशन गरेको पत्रकारहरूको नामावलीप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेको हो ।
चौतारी बागमती प्रदेशका उपाध्यक्ष राधेश्याम खतिवडाको नेतृत्वमा गएको टोलीले कार्यालयमा तालाबन्दी गरेको हो । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिअन्तर्गतको सदस्यता शुद्धीकरण समितिले प्रदेश समितिबाट प्राप्त सिफारिस भनी शुक्रबार बागमती प्रदेशका १३ जिल्लाका पत्रकारहरूको नामावली प्रकाशन गरेको थियो । उक्त नामावलीप्रति प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको तालाबन्दीपछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले सदस्यताको विषय टुंग्याउनु अघि संगठनहरुसँग बसेर गरेको सहमति लत्याएको छ । चौतारीसंग गरेको सहमतिको प्रयास गरिएको प्रपञ्च रचेर आफ्नो मनोगत निर्णय कार्यान्वयन गराउन सिफारिस गर्ने नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको सिफारिसको घोर बिरोध रहेको कार्यबाहक अध्यक्ष खतिवडाले बताउनुभयो ।
जिल्ला समितिबाट सर्वसम्मत सहमति भई सदस्यता नवीकरण गर्न सिफारीस गरिएका पत्रकारहरुको नामावली काटेर जिल्लाबाट सिफारिस नभएकाहरुको नाम प्रदेश समितिबाट थप्ने कार्य भएको उहाँले बताउनुभयो । महासंघबाट जारी भएको १५ बुँदै मापदण्ड पूर्ण पालना नभएसम्म ताला नखुल्ने जनाईएको छ । तालाबन्दी कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य हरि हुमागाई, चौतारी बागमती प्रदेश कमिटीका महासचिब प्रकाश दाहाल, प्रदेश सदस्य विवश अधिकारी, नविन तिमल्सिना, चौतारीका जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीलगायत चौतारी निकट पत्रकारहरुको सहभागिता थियो ।